01/04/2025
बियाड युवा साहित्यिक संस्थानद्वारा चार साहित्यिक व्यक्तित्व सम्मानित
साहित्यले राजनीतिक चेतनाको पनि विकास गर्नुपर्छः भीम राउत
अर्जुन राई
गान्तोक, 31 मार्चः बियाड युवा साहित्यिक संस्थान, बिरिङ पाकिम सिक्किमको चौथो स्थापना दिवसको अवसरमा राज्यका चार साहित्यिक व्यक्तित्वलाई सम्मान जनाइएको छ। वरिष्ठ पत्रकार एवं प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउत मुख्य अतिथि रहेको समारोहलाई वरिष्ठ साहित्य अध्येता कमल काप्लेले अध्यक्षता गरेका थिए भने हिन्दी साहित्य सेवा समिति, सिक्किमका अध्यक्ष एवं साहित्यकार भीम ठटाल, प्रेस क्लब अफ् सिक्किमका महासचिव डिल्लीराम दुलाल, रामगौरी सङ्ग्रहालयका संस्थापक गणेश प्रधान, अतिरिक्त जिल्लापाल (विकास), पाकिम रविन सेवा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा वरिष्ठ साहित्यका एवं गजलगो डिल्लीप्रसाद अधिकारीलाई उनको साहित्यिक योगदानको कदर गर्दै ‘बियाड साहित्य सेवा सम्मान-2025’-ले अलङ्कृत गरियो भने वरिष्ठ साहित्यकार एवं आकाशवाणी गान्तोककी समाचार वाचिका उषा शर्मालाई उनको साहित्यिक योगदानको कदरस्वरूप ‘बियाड शारदा सम्मान-2025’-ले अङ्कृत गरिएको छ। यसरी नै विभिन्न क्षेत्रमा आफ्नो अब्बल प्रतिभा दर्शाउँदै आइरहेकी तल्लो बिरिङकी बाल प्रतिभा तेजस्वी भट्टराईलाई ‘बियाड बाल प्रतिभा सम्मान-2025’ र साहित्य तथा पत्रिकारिता जगतमा लामो समयदेखि योगदान दिँदै आइरहेका अर्जुन चामलिङ ‘यावा’-लाई ‘बियाड प्रतिविम्ब सम्मान-2025’-द्वारा अलङ्कृत गरिएको छ। यसरी नै समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका दुईवटा गैरसरकारी संस्था ‘सिटिजन फाउण्डेशन’ र ‘कञ्चन क्लब लोअर बिरिङ’-लाई पनि अभिनन्दन जनाइयो। समारोहमा मुख्य अतिथि भीम राउतलाई पनि अभिनन्दन जनाइयो। कार्यक्रममा भर्खरै मात्र साहित्य अकादमीद्वारा पुरस्कृत साहित्यकार युवा बराललाई वुमन सोशल वर्कर, बिरिङद्वारा बधाई दिँदै अभिनन्दन जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष कमल काफ्लेले बियाड युवा साहित्य संस्थानले धेरै काम गरिसकेको र भारतीय स्तरमै पुगिसकेको बताए। सिक्किममा 1940 देखि मात्रै लिपिबद्ध लेख/साहित्य पाइएको उनले बताए। त्यसपछि मात्र ‘अपतन’ स्थापना भएर साहित्यको विकास हुँदै आएको सभाध्यक्ष काफ्लेले बताए। साहित्यमा नारी हस्ताक्षरको सन्दर्भमा बोल्दै उनले अहिलेसम्म नेपाली साहित्यमा तीनजनाले मात्र साहित्य अकादमी पुरस्कार पाउन सकेको बताए। अहिलेसम्म 48 जनाले साहित्य पुरस्कार पाइसक्दा केवल तीनजना नारी हस्ताक्षर गीता शर्मा, विन्द्या सुब्बा र वीणा हाङ्खिम पुरस्कृत हुनसकेको बताउँदै नारी कलम अघि आउनुपर्ने मन्तव्य राखे।
यसरी नै मुख्य अतिथि भीम राउतले आफ्नो सम्बोधनमा साहित्यको स्वरूप र साहित्य सिर्जनाबारे आफ्नो धारणा राख्दै साहित्यले राजनीतिक चेतनाको विकास गराउन सक्नुपर्ने बताए। आज सिक्किमे साहित्यले समात्नुपर्ने धार छोड़िएको महसुस भएको बताउँदै अबका साहित्यकारहरूले त्यसलाई समाउनुपर्ने विचार राखे। उनले भने, “आज संविधानको धाराको कुरा उठिरहेको हुन्छ। तर त्यसबारे लेखिएको छैन। साहित्यले जनताका समस्याका कुराहरूलाई सम्बोधन गर्नुपर्छ। यसो गरे मात्र साहित्यको समग्र विकास हुनसक्छ।” उनले साहित्यले राजनीतिलाई डोर्याउनुपर्ने बताउँदै साहित्यमा व्यङ्ग्य पनि एउटा सशक्त माध्यम भएको हुनाले आफूले व्यङ्ग्यमा कलम चलाइरहेको बताए।
कार्यक्रमको अर्को आकर्षण ‘रामायणदेखि कृत्तिम बुद्धिमत्तासम्म’ वार्ता रहेको थियो। यो वार्ता कवि तथा साहित्यकार प्रवीण खालिङले प्रस्तुत गरेका थिए। एआईभन्दा अघि वाई-जेनेरशनको साहित्यमा सब-कल्चर आइरहेको उनले बताए। नेपाली साहित्यमा लेखकहरूलाई अग्रिम भुक्तान शुरु हुनुलाई उपलब्धि मान्न सकिने भए पनि अहिले आएर एआईको प्रयोग शुरु भइसकेपछि यो पनि एउटा चुनौती बनिरहेको उनले बताए। यद्यपि, लोकसंस्कृतिलगायतका कुराहरूमा एआईले मान्छेलाई रिप्लेस गर्न नसक्ने उनले बताए। वर्तमान साहित्यमा कोरा भावुकता मात्र लेखेर नहुने बताउँदै एआईसँग दाँजिएर लेख्नसक्नुपर्ने चुनौतीमाझ साहित्य सिर्जना गर्नसक्नुपर्ने बताए। खालिङले सिक्किम सब-कल्चर लेखनमा पनि पछि परिरहेको अवस्था उजागर गर्दै सबै जिम्मेवार भएर लेख्नुपर्ने कुरामा जोड़ दिए।
कार्यक्रमलाई सम्मानित व्यक्तित्वहरू डिल्लीप्रसाद अधिकारी, उषा शर्मा र अर्जुन चामलिङ ‘यावा’-ले पनि सम्बोधन गरे भने तेजश्वी भट्टराईले कविता वाचन गरिन्।
कार्यक्रम दीप प्रज्ज्वलन तथा आयोजक समितिका संयोजक युवा बराल ‘अनन्त’-को स्वागत सम्बोधनबाट शुरु भएको थियो। आफ्नो सम्बोधनमा बरालले बियाड युवा साहित्यिक संस्थानले गर्दै आइरहेका कार्यहरूरबारे प्रकाश पारे भने कार्यकारिणी सदस्य पवन बाहुनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थानका उद्देश्य र लक्ष्यबारे प्रकाश पारे।
कार्यक्रममा तल्लो बिरिङका मदन मित्रको टोलीद्वारा प्रस्तुत दोलखे नृत्य, कला एवं संस्कृति परिषद्, ताकछाङद्वारा बालन नृत्य र कञ्चन क्लब लोअर बिरिङद्वारा मारुनि नृत्य प्रस्तुत गरिएको थियो भने स्पोर्टिङ क्लब, केराबारीको टोलीले सँगिनी नृत्य प्रस्तुत गर्यो। कार्यक्रमको अर्को विशेष प्रस्तुति काव्य प्रस्तुति रहेको थियो, जो दुई चरणमा राखिएको थियो। पहिलो चरण ‘बियाड काव्य सङ्गम’-मा बियाडका सदस्य कविताहरू केएन कश्यप, एलडी अधिकारी, टेकनाथ घिमिरे, अलख नारायण दङ्गाल र टीकाराम दाहालले कविता वाचन गरे। दोस्रो चरणमा आमन्त्रिक कविहरू भीम ठटाल, मुक्ति घिमिरे, सुमन मिश्र, ईश्वर तिम्सिना, सुशान्त प्रधान, अमर बानिया ‘लोहोरो’, जीविका ‘अश्रु’, एनबी घिमिरे, जीवन छेत्री, कुबेर भट्टराई ‘आभास’, प्रेम न्यौपाने ‘प्रहर’, मोहन गौतम, सुमीरण सापकोटा, कपिलमणि अधिकारी, सरिता छेत्री, सन्तु राईले कविता वाचन गरे भने ललित लोहार गीत पाठ गरे।