18/07/2025
प्रेस विज्ञप्ति
मिति: १८ जुलाई २०२५
हिजो श्रावण संक्रान्तिको दिन सिटिजन एक्सन पार्टी–सिक्किमका नेताहरूले “पद होइन पेन्सन" अभियानअन्तर्गत सत्य, न्याय र जनउत्तरदायित्वका पक्षमा भिजिल्यान्स कार्यालयमा शान्तिपूर्ण रूपमा आवाज उठाए। तर सत्तामा बस्नेहरूलाई सत्य सधैं चुभिन्छ। साँझपख SP Vigilance को मिलेमतोमा झूटा मुद्दा दर्ता गर्दै १२ जना नेताहरूमाथि एफआईआर दर्ता गरियो, युवा कल्याण परिषद्का महासचिव दिवस गुरुङलाई जबर्जस्ती पक्राउ गरि सदर थाना ल्याइयो।
यो केवल दमनको सुरुवात थियो। रात करिब १० बजे SKMका गुण्डाहरू प्रहरीकै संरक्षणमा सदर थानाभित्र प्रवेश गरेर खुकुरी, मार्तोल र लाठीसहित हाम्रो नेताहरूमाथि नाङ्गो हमला गरे। थानाभित्रै भएको यो आक्रमण केवल शारीरिक हिंसा थिएन, यो प्रजातन्त्र, कानून र मानव अधिकारमाथिको सार्वजनिक बलात्कार थियो। प्रशान्त गुरुङको ढाडमा २३ सिलाइ लाग्नु एउटा व्यक्तिको घाउ होइन, सिंगो लोकतान्त्रिक मूल्यको चिरफार हो। धनबहादुर तामाङ, ललित गुरुङ र प्रशान्त बाबु छेत्री गम्भीर घाइते अवस्थामा अस्पतालमा छन्।
यस सम्पूर्ण घटनामा पुलिस प्रशासनको भूमिकाले प्रमाणित गर्यो,यो केवल स्थानीय घटना होइन, सत्ताको संरक्षणमा सञ्चालित योजनाबद्ध राजनीतिक हिंसा हो। SKM सरकारले यो राज्यमा न्याय होइन, आतंकको शासन लाद्न खोजेको छ। सत्य बोल्नेलाई थानामा तान्ने, रगत बगाउने अनि प्रहरी लगाएर अपराधीको सुरक्षा गर्ने सरकारलाई जनताले अब चिन्न थालेका छन्। हाम्रा युवा नेताहरूको रगतले एसकेएमले श्रावण संक्रान्ति मनायो!
हामी यो घटनाको कठोर शब्दमा घोर भर्त्सना गर्दछौं। हाम्रा नेताको रगतले पोषिएको हाम्रो आन्दोलन अझ तीव्र हुनेछ। यो आन्दोलन कुनै पार्टीको स्वार्थ होइन, न्याय र लोकतन्त्रको लागि लडाइँ हो। SKM सरकारलाई स्पष्ट सुनाउँछौं,हामी न त डराउँछौं, न झुक्छौं।
यो अन्यायविरुद्धको प्रतिकार अब शान्त नहुने लहर बनेर उठ्नेछ।
हामी यहीँ रोकिने छैनौं।
— प्रकाश पराजुली।
महासचिव (संगठन)।
सिटिजन एक्सन पार्टी – सिक्किम।