19/07/2025
सोरेङ-च्याखुङ समष्टिको सोरेङ रुवन कम्प्लेक्समा धमाधम भईरहेको छ च्यादर वितरण
ग्रामीण विकास विभागले आज राज्यव्यापी रूपमा सबै निर्वाचन क्षेत्रमा लाभार्थीहरुलाई च्यादर (जीसीआई) वितरण गर्ने कार्यको आरम्भ गरेको छ। यता सोरेङ जिल्लाको चारैवटा निर्वाचन क्षेत्रमा पनि सम्बन्धित समष्टिका विधायकहरुको उपस्थितिमा लाभार्थीहरुलाई च्यादर वितरण गरिएको छ। सोरेङ-च्याखुङ समष्टिको चुम्बुङ र सोरेङ खण्ड प्रशासनिक कार्यलय अन्तर्गत पर्ने कुल 13 वटा ग्राम पञ्चायत एकाईमा छनौट लाभार्थीहरुको च्यादर वितरण कार्यक्रम सोरेङस्थित रुवन कम्प्लेक्समा आजदेखि आरम्भ भयो। सोरेङको रुवन कम्प्लेक्समा आयोजित सोरेङ-च्याखुङ समष्टिको च्यादर वितरण कार्यक्रममा विधायक श्री आदित्य गोले स्वयं उपस्थित थिए। वहाँका साथमा सुचना तथा जनसम्पर्क विभागका सल्लाहकार श्री एसबी सुब्बा, कृषि एवं बागवानी बोर्डका अध्यक्ष श्री सीके राणा, सोरेङ जिल्लाका अतिरिक्त राजनीतिक सचिव श्री इरश लेप्चा, विशेष सेवा अधिकारी श्रीराजेन बस्नेत, आबकारी विभागका ओएसडी रेमोन थापा, ग्रामीण विकास विभागका अतिरिक्त जिल्लापाल गायस पेगा, चुम्बुङका बीडीओ श्री आरके गुरुङ, सोरेङका बीडीओ श्रीपारुहाङ सुब्बा, जिल्ला पञ्चायतका डीपीओ श्रीकुमार सुब्बा, जिल्ला तथा ग्राम पञ्चायतगण, सीएलसी अध्यक्ष श्री भानु सुब्बा, सत्तारूढ पार्टीका कार्यकर्ता र लाभार्थीहरुको उपस्थिति थियो। यी अधिकांश लाभार्थीहरुले च्यादरको एलटमेन्ट अर्डर 2024-को विधानसभा चुनाउ अघि नै प्राप्त गरेका थिए। आज विधायक गोलेको बाहुलीबाट सोरेङ खण्ड प्रशासनिक कार्यलय अन्तर्गत अप्पर टिम्बुरबुङ र चुम्बुङ खण्ड प्रशासनिक कार्यलयअन्तर्गत मेन्दोगाउँ ब्लकका लाभार्थीहरुलाई च्यादर वितरण गरिएको हो। प्रथम दिनमा सोरेङ खण्ड प्रशासनिक कार्यलयअन्तर्गत अप्पर टिम्बुरबुङ ब्लकका 50 जना र चुम्बुङ खण्ड प्रशासनिक कार्यलयअन्तर्गत मेन्दोगाउँ ब्लकका 54 जना लाभार्थीहरुलाई च्यादर वितरण गरियो। आज च्यादर प्राप्त गर्नेमा सङ्घका लाभार्थी पनि थिए। आजदेखि शुरु भएको च्यादर वितरण कार्यक्रम चरणबद्ध रूपमा प्रत्येक दिन दुईवटा ब्लकका लाभार्थीहरुलाई च्यादर वितरण गरिने भएको छ।
सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको निर्देशनमा ग्रामीण विकास विभागले यसपटकदेखि सम्बन्धित आफ्नो खण्ड प्रशासनिक कार्यलयबाटै सिधै च्यादर प्राप्त गर्न सकिने लाभार्थीहरुलाई सुविधा दिएको छ। यसअघि, पश्चिम र दक्षिण जिल्लाका 16 वटा समष्टिका लाभार्थीहरुले जोरथाङको आरडीडी स्टोरबाट च्यादर उठाउनु पर्दैथियो। जोरथार स्टोरबाट उठाउँदा धेरै लाभार्थीहरुको च्यादर दलालहरुले गरीबबाट सस्तो मूल्यमा किनेर ठग्ने गरेको सुचना प्राप्त भएपछि सरकारले खण्ड प्रशासनिक कार्यलयबाट सहुलियत वितरण गर्ने चाँजो मिलाएको बताइएको छ। सम्माननीय मुख्यमन्त्रीले अघिबाटै कार्यक्रमतिर आफ्नो सम्बोधनको क्रममा सरकारले वितरण गरेका सहुलियतहरु गरीब जनताबाट किन्नेहरु विरुद्ध कडा कार्वाही गरिने चेतावनी दिइसकेका छन्।
उल्लेखनीय, सोरेङ जिल्लाअन्तर्गत चारवटा समष्टिमा दुई हजार भन्दा अधिक लाभार्थीहरुलाई च्यादर वितरण गरिने कार्यक्रम रहेको छ भने यसमा मुख्यमन्त्री, सङ्घ र सारथि कोटाको च्यादर पनि सामेल छन्।