08/03/2026
चार दिवसीय "भारतीय अर्किड महोत्सव २०२६" को उद्घाटन समारोह, भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) पाक्योङ्ग परिसरमा सम्पन्न।
पाक्योङ्ग, मार्च ०७ : राष्ट्रिय अर्किडस अनुसन्धान केन्द्र सिक्किम,पाक्योङ्गको आयोजनामा चार दिवसीय "भारतीय अर्किड महोत्सव २०२६" को उद्घाटन समारोह आज भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) पाक्योङ्ग परिसरमा “भारतमा व्यावसायीकरण: सिम्बिडियम प्रजननमा नवप्रवर्तन र सिक्किम सरकारको नीतिगत सहयोग” विषयक प्राविधिक सत्रसँगै सुरु भयो।
यस कार्यक्रममा शिक्षा, खेलकुद, युवा मामिला, कानुन तथा संसदीय मामिला विभागका मन्त्री तथा कार्यक्रमका अध्यक्ष श्री राजु बस्नेत, पर्यटन तथा नागरिक उड्डयन विभागका विधायक एवं -सह-सलाहकार श्री सुदेश कुमार सुब्बा, र कृषि वैज्ञानिक भर्ती बोर्ड (एएसआरबी) का अध्यक्ष डा. सञ्जय कुमार प्रमुख अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो।
चार दिनसम्म चल्ने यस महोत्सवको उद्देश्य राज्यमा पाइने अर्किडको विविधतालाई प्रवर्द्धन गर्नु, सिक्किमलाई अर्किड खेतीको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु तथा कृषक, उद्यमी र नीतिनिर्माताहरूलाई ज्ञान आदानप्रदान, नवीन अभ्यासहरू प्रदर्शन र अर्किड खेती तथा फ्लोरिकल्चर क्षेत्रमा अवसरहरूको खोजी गर्न साझा मञ्च प्रदान रहेको छ।
उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मन्त्री श्री राजु बस्नेतले महोत्सव सफलतापूर्वक आयोजना गराएकोमा आयोजकपक्षको प्रशंसा गर्नु भयो। उहाँले सिक्किमको फ्लोरिकल्चर क्षेत्रमा सीमित बजार पहुँच र कम आम्दानीजस्ता चुनौतीहरू रहेको उल्लेख गर्दै बजारसँग राम्रो सम्पर्क स्थापना भएमा यस क्षेत्रबाट किसानका लागि थप अवसर सिर्जना हुने र कृषि क्षेत्रमा सहभागिता बढ्ने बताउनु भयो। उहाँले सबै सरोकारवालाहरू र किसानहरूलाई यस क्षेत्रमा मिलेर काम गर्न पनि आग्रह गर्नु भयो।
विधायक-सह-सलाहकार सुरेन कुमार सुब्बाले अर्किड प्रजातिहरूको विशाल विविधताको चर्चा गर्दै अर्किड खेतीले फ्लोरिकल्चर र पर्यटन क्षेत्रमा धेरै अवसरहरू प्रदान गर्ने बताउनु भयो। यस क्षेत्रले रोजगारी र जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न ठूलो सम्भावना बोकेको बताउनु हुँदै युवाहरूलाई दिगोपनतर्फ ध्यान दिन र सरकारी जागिरमा मात्र निर्भर नभई उद्यमशीलताको माध्यमबाट परम्परागत तथा नविन जीविकोपार्जनका अवसरहरू खोज्न आग्रह गर्नु भयो।।
कृषि वैज्ञानिक भर्ती बोर्ड (एएसआरबी)काअध्यक्ष डा. सञ्जय कुमारले सीमित जनशक्तिका बाबजुद संस्थाले उल्लेखनीय प्रगति गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो। उहाँले अनुसन्धान र व्यवसायिक मोडेललाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनु हुँदै, नेदरल्याण्ड, ताइवान, थाइल्याण्ड, सिङ्गापुर र कोलम्बियाजस्ता देशहरूबाट हामीले प्रेरणा लिन सकिने बताउनु भयो। त्यस्ता उपायहरूले भारतलाई विश्वस्तरमा अर्किड उत्पादनको केन्द्र बनाउन मद्दत गर्ने साथै उनले टिस्यु कल्चर, उन्नत खेती प्रणाली र आधुनिक उत्पादन प्रविधिबाट जैविक विविधता संरक्षण गर्नुपर्ने आवश्यकता पनि जोड दिनु भयो।
उहाँले ग्रामीण समृद्धिमा जोड दिँदै क्लस्टर-आधारित जैविक खेती मोडेलमार्फत किसान, महिला र युवाहरूको सहभागिता बढाउन आग्रह गर्नु भयो। अर्किड खेतीलाई पर्यटन र क्षेत्रीय विकाससँग जोडेर डेटा, कृत्रिम बुद्धिमत्ता र डिजिटल पूर्वाधार प्रयोग गर्नुपर्ने पनि उहाँले बताउनु भयो।
इन्डियन इन्स्टिच्युट अफ एग्रिकल्चरल बायोटेक्नोलोजी, राँची का निर्देशक डा. सुजय रक्षितले विश्व फ्लोरिकल्चर बजारमा अर्किडको ठूलो सम्भावना रहेको र यसले निर्यातयोग्य महत्वपूर्ण वस्तुको रूपमा विकास हुन सक्ने बताउनु भयो। राज्य सरकारको निरन्तर सहयोगले अर्किड उद्योग फस्टाउने र किसानलाई सेवा सुधार, प्रशोधन तथा मूल्य अभिवृद्धिमार्फत आर्थिक लाभ पुर्याउने उनले बताउनु भयो साथै अर्खिड अनुसन्धान, सचेतना र खेती विकासका लागि बायोटेक्नोलोजीमा सहकार्यको महत्त्व रहेको पनि उल्लेख गर्नु भयो।
आईसीएआर-एनआरसीओ का निर्देशक डा. एस. पी. दासले गत साल भारतीय अर्किड महोत्सव २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आयोजक विभागहरूको प्रयासप्रति आभार व्यक्त गर्नु भयो। उहाँले संस्थाद्वारा हासिल गरेका उपलब्धिहरू, चलिरहेका अनुसन्धान कार्यक्रमहरू तथा नयाँ अर्किड हाइब्रिड विकासबारे जानकारी दिनु हुँदै राज्य सरकारको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो।
यसअघि विशिष्ट अतिथिहरूले अर्किड नर्सरी तथा प्रदर्शनी स्टलहरूको अवलोकन गरी प्रदर्शित अर्किड प्रजातिहरूको जानकारी पनि लिएका थिए।
कार्यक्रमको प्रमुख आकर्षणमध्ये आईसीएआर-एनआरसीओ र “स्मार्ट्रोजेनिक प्लान्ट्स प्राइभेट लिमिटेड” बीच अर्किड उद्योगको विकास र व्यावसायीकरणका लागि सहकार्य गर्ने उद्देश्यले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर पनि गरियो।
त्यस अवसरमा आईसीएआर-एनआरसीओ -द्वारा विकसित छ वटा अर्किड हाइब्रिड सार्वजनिक गरियो भने स्थानीय किसान तथा सरोकारवालाहरूलाई वैज्ञानिक जानकारी सहज बनाउन नेपाली भाषामा चारवटा प्राविधिक बुलेटिन पनि प्रकाशन गरिएको थियो साथै विभिन्न संस्थाहरूले किसानहरूलाई अर्किडको रोपण सामग्री वितरण गरेर खेती प्रवर्द्धन तथा जीविकोपार्जन सुधार गर्न सहयोग गरेका थिए।
उद्घाटन समारोहपछि आईसीएआर-एनआरसीओ -का निर्देशक डा. एस. पी. दासले “भारतमा अर्किड व्यावसायीकरण: अवसर र भविष्यका सम्भावना” विषयमा सत्र सञ्चालन भएको थियो।
त्यसैगरी अर्किड ब्रीडर डा. मोहन प्रधानले “आधुनिक सिम्बिडियम हाइब्रिड विकास” विषयमा सत्र सञ्चालन गर्नु भयो।
अतिरिक्त निर्देशक (बागवानी) सुश्री पेमा छोडेन भोटियाले सिक्किममा फ्लोरिकल्चर प्रवर्द्धनका लागि सरकारले लिएको पहल तथा रुमतेकस्थित सिम्बिडियम डेभलपमेन्ट सेन्टर को प्रभावकारी यात्राबारे जानकारी गराउनु भयो।
यसरी अन्त्यमा सहभागीहरूसँग अन्तरक्रियात्मक सत्र तथा सांस्कृतिक कार्यक्रमहरूसँगै कार्यक्रम सम्पन्न भयो।
समारोहमा कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटिया, आईएएचएस का संयुक्त प्रबन्ध निर्देशक रश्मि अत्तावर, सिन्कोना, मङ्पोका निर्देशक डा. स्यामुएल राई, सिक्किम विश्व विद्यालयका रजिस्ट्रार इन्चार्ज डा. लक्षमण शर्मा, आईसीएआर-आईआईएचआर का पीएस डा. राजीव कुमार लगायत विभिन्न विभागका अधिकारीहरू, प्रगतिशील किसान र सर्वसाधारणको उपस्थिति रहेको थियो।
फोटो: आईपीआर (पाक्योङ्ग)