
08/07/2025
जमिनी तहका महिलाहरूको क्षमता, प्रतिबद्धता र नेतृत्व दक्षताप्रति राज्य सरकारको दृढ विश्वास राज्यभरिका स्वयम् सेवा समूह (एसएचजी) का महिलाहरूबाट 11 जना अध्यक्ष र एकजना विशेष कार्य अधिकृत (ओएसडी) नियुक्त ऐतिहासिक पहल!!
सिक्किममा महिलाहरूले नीति निर्धारण र सरकारी कामकाजमा पूर्ण सहभागी हुन पाएको देख्दा असाध्यै गर्वबोध भइरहेको छ। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकाले महिलाहरूलाई पूर्ण अधिकार प्रदान गरेर महिला सशक्तिकरणप्रति देश अनि राज्यको सपनालाई मूर्त रूप दिने कार्य गरेको अर्को एउटा बल्दो उदाहरण आज प्रस्तुत भएको छ। सिक्किमका सचेत जनताले एसकेएम पार्टीलाई राज्यमा सरकार गर्ने पूर्ण जिम्मेवारी सुम्पिएपछि हरेक तहका जनमानसले समान अधिकार प्राप्त गरिरहेको कुरा विदितै छ। यसैको एउटा उदाहरण आज सिक्किम सरकारद्वारा गरिएको उच्च पदाधिकारीहरूको नियुक्तिमा देखा परेको छ।
सरकारले राज्यको शासन व्यवस्थामा सामुदायिक सहभागिता र महिला सशक्तिकरणको नयाँ अध्याय सुरु गर्दै ऐतिहासिक निर्णय लिइसकेको छ। राज्यभरिका स्वयम् सेवा समूह (एसएचजी) का महिलाहरूबाट 11 जना अध्यक्ष र एकजना विशेष कार्य अधिकृत (ओएसडी) नियुक्त गर्दै सिक्किमले तृणमूल शासनमा समुदायआधारित नेतृत्वलाई औपचारिक रूपमा समेट्ने साहसिक कदम चालेको छ। सिक्किममा अहिले एसएचजी-ले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ। साथै राज्यलाई विकासको बाटोमा डोहोऱ्याउन र आत्मनिर्भरताको बाटो देखाउन यस समूहका सदस्यहरूले दिइँदै आएको योगदान कदरयोग्य ठहर्दछ।
आज सरकारले गरेको यस्तो निर्णायक पहलले महिलाहरूलाई नेतृत्व क्षमता बढाउने विश्वास गरिन्छ। स्वयम् सहायता समूहमा संलग्न हजारौँ महिलाहरूको प्रेरणाको स्रोतका रूपमा आज सरकारले गरेको ऐतिहासिक निर्णय झल्किएको छ। सामूहिक सशक्तिकरण, आत्मनिर्भरता र समर्पित सेवाको अभ्यास गर्दै आएका एसएचजी-का महिलाहरू अब नीति निर्माण र राज्य शासनको निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बन्न पुगेका छन्।
राज्य सरकारको यो निर्णय दूरदर्शी नेता श्री प्रेमसिंह तामाङको परिकल्पनाको परिणाम हो। मुख्यमन्त्रीद्वारा लिइएको यो निर्णयले जमिनी तहका महिलाहरूको क्षमता, प्रतिबद्धता र नेतृत्व दक्षताप्रति राज्य सरकारको दृढ विश्वास प्रकट गर्दछ। विगतमा आफ्नै बलबुताबाट अघि आएर राज्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा सेवा पुऱ्याउँदै आएका महिलाहरू अब राज्यको समग्र नीति निर्माणको केन्द्रमा छन्। यो एउटा हर्षको विषयसँगै सामाजिक न्याय, समावेशी शासन र जनशक्ति केन्द्रित विकासमा एसकेएम सरकारको गहिरो प्रतिबद्धता पनि हो। यस पहलले सिक्किमलाई महिला सशक्तिकरण र सहभागी लोकतन्त्रतर्फ सहस्रौँ कदम अगाडि बढाएको प्रतीत भइरहेको छ। राज्यका प्रत्येक एसएचजी सदस्यका लागि यो एउटा ऐतिहासिक अवसर हो। उनीहरूको योगदान, परिश्रम र नेतृत्व क्षमतालाई राज्यले आधिकारिक मान्यता दिएको यो पक्का प्रमाण पनि हो।
हामी सम्मानीनय मुख्यमन्त्रीलाई यस निर्भीक निर्णयका लागि हार्दिक धन्यवाद दिँदछौँ। तपाईँको यो निर्णयलाई हामीले 12 जना महिलाको सम्मान मात्र नभएर राज्यका हजारौँ महिलाको श्रम, प्रतिबद्धता र एकताको सुखद प्रतिफल ठानेका छौँ। आज विभिन्न पदमा नियुक्त हुनुहुने महिला अधिकृतहरूको आगामी सुखद कार्यकालको कामना गर्दै हृदयको गहिराइबाट हार्दिक बधाई व्यक्त गर्दछु।
नवीन दाहाल
अध्यक्ष,
सोसियल मिडिया
सिक्किम क्रान्तिकारी मोर्चा