12/08/2026
दार्जिलिङ जिमखाना क्लबका कर्मचारीद्वारा निष्कासन नोटिस र कार्यस्थलसम्बन्धी गुनासोमा न्यायको माग
दार्जिलिङ: ऐतिहासिक दार्जिलिङ जिमखाना क्लबका स्थायी तथा अस्थायी कर्मचारीहरूले क्लब व्यवस्थापन समितिका सदस्यहरूबाट आफूहरूमाथि “अन्याय, अपमान, अमर्यादा, विभेदपूर्ण व्यवहार तथा अनावश्यक दबाब” भइरहेको आरोप लगाउँदै सञ्चारमाध्यमसमक्ष आफ्ना समस्या सार्वजनिक गरेका छन्।
कर्मचारी प्रतिनिधिहरूका अनुसार धेरै कर्मचारी तथा उनीहरूका परिवारहरू पुस्तौँदेखि क्लबको आवासीय क्वार्टरमा बस्दै आएका छन् र संस्थाको सेवामा दशकौँ बिताएका छन्। व्यवस्थापनसँगको विवादका कारण आफूहरू गम्भीर मानसिक तनाव, असुरक्षा र कठिनाइमा परेको उनीहरूको भनाइ छ।
विवादको मुख्य विषय लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई जारी गरिएको क्वार्टर खाली गर्ने नोटिस रहेको छ। क्लबका अध्यक्ष जामलिङ तेन्जिङ द्वारा जारी नोटिसमा टिका तामाङ लगायतका कर्मचारीलाई करिब २०० वर्गफिटका भुइँतल्लाका कर्मचारी क्वार्टर खाली गर्न निर्देशन दिइएको र निर्देशन पालना नगरे व्यवस्थापनले परिसरमा ताल्चा लगाई व्यक्तिगत सामानसमेत हटाउने चेतावनी दिएको कर्मचारीहरूको भनाइ छ।
प्रभावित कर्मचारीहरूले आफ्ना परिवारहरू पुस्तौँदेखि बस्दै आएको क्वार्टरमा बसिरहन पाउनुपर्ने माग गरेका छन्। साथै उनीहरूले रोजगारीको सुरक्षा तथा आफ्ना सन्तानलाई पनि ऐतिहासिक दार्जिलिङ जिमखाना क्लबमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
कर्मचारीहरूले आफूहरूले क्लबको सेवामा लामो समय योगदान दिएको र कतिपय परिवारले पुस्तौँदेखि संस्थामा सेवा गर्दै आएको उल्लेख गर्दै व्यवस्थापनले आफ्ना माग र समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्। यसबारे अवकाशप्राप्त कर्मचारीहरू टीका तामाङ अनि अनिल गजमेरले विस्तृत जानकारी दिएका छन्।