08/11/2020
*सांसद कार्यालय*
*प्रेस विज्ञप्ति*
*०८ नोभेम्बर, २०२०*
दार्जीलिङ्ग लोकसभा निर्वाचन क्षेत्रका जनताका आकाङ्क्षाहरू पूरा गर्न म सक्षम हुनेछु भन्ने विश्वास गरेर नै उनीहरूले आफ्नो प्रतिनिधिको रूपमा मलाई संसद पठाएका हुन्। निर्वाचित भएको दिनदेखि नै त्यो लक्ष्य हासिल गर्ने दिशामा मैले पूरा इमानदारी र सङ्कल्पका साथ काम गर्दै आएको छु। दार्जीलिङ्ग लोकसभा सीटबाट लोकसभा सांसदको हैसियतले छोटो समयावधिभित्र हाम्रा मुद्दाहरूको समाधान निम्ति मैले हरेक मञ्च र सम्बन्धित ढोका घच्घच्याएको छु।
हाम्रा मागहरू संवैधानिक तरिका र संसदद्वारामात्रै पूरा हुन सक्दछन् भनी हाम्रा जनताले बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। हाम्रा सबै मुद्दा र समस्याहरूको समाधान संविधानमा निहित छ। जनता साक्षी छन् कि अत्यन्तै छोटो अवधिमा हाम्रो सरकारले अनुच्छेद ३७० रद्द गर्ने, बोडोल्याण्ड समस्याको समाधान गर्ने, तीन तलाकलाई समाप्त गर्ने, अल्पसंख्यक शरणार्थीहरूलाई न्याय र सम्मान दिलाउन नागरिकता संशोधन कानून (CAA) लागू गर्ने, श्रम सुधारहरू लागू गर्ने तथा आजसम्मका कुनैपनि सरकारले समाधान गर्ने प्रयास नै नगरेका विवादित मुद्दाहरूको समाधान गर्ने काम गरेर देखाएको छ। आगामी दिनहरूमा, दार्जीलिङ्ग पहाड़, तराई र डुवर्ससम्बन्धी मुद्दाहरूको पनि यसैप्रकार अवश्यनै समाधान हुनेछ भन्ने कुरामा म विश्वस्त छु।
म स्वयं गोर्खे सन्तान भएको हुँदा, म पूर्ण जिम्मेवारीका साथ भन्दछु कि अहिलेसम्म भाजपा एकमात्र यस्तो पार्टी हो जसले हाम्रो क्षेत्रका जनताका आकाङ्क्षाहरूलाई सम्मान गरेको छ र तिनलाई साकार पार्ने दिशामा अग्रसर छ। दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका जनताका चीरकालिक मागहरूको स्थायी राजनीतिक समाधान तथा छोडिएका ११ गोर्खा जात-गोष्ठीलाई ST दर्जा प्रदान गर्न वचनबद्ध भाजपा एकमात्र पार्टी हो, र पार्टीले हामीसित गरेको वाचा अवश्य पूरा गर्नेछ भन्ने आश्वासन म दिन सक्दछु।
GJM का नेताहरूको पश्चिम बङ्गालमा सुरक्षित वापसीको बाटो निकाल्न उनीहरूका आफ्नै बाध्यताहरू छन् भनी म बुझ्दछु। म उहाँहरूले रोज्नुभएको बाटोमा शुभेच्छा दिँदछु तर, TMC ले गोर्खाहरूसित कहिल्यै न्याय गर्ने छैन भन्ने कुरा पक्का छ, र TMC मा शामेल हुनुको अर्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जनताका साझा सपना तथा आकाङ्क्षाहरूलाई तिलाञ्जली दिनु हो।
यसै कारणले, TMC को तानाशाहीअन्तर्गत पीड़ित साधारण गोर्खाहरूले सुश्री ममता ब्यानर्जीलाई फेरि मुख्यमन्त्रीको रूपमा कहिल्यैपनि भोट दिने छैनन् भनी म आश्वस्त छु। तानाशाहीपूर्ण TMC तथा सुश्री ममता ब्यानर्जीप्रति गोर्खाहरूको मनमा पटक्कै सम्मान छैन, र लोकतन्त्रमा कसैले पनि जन-भावनालाई हलुङ्गो रूपमा लिन सक्दैन।
हाम्रा जनता एकबद्ध रहुञ्जेल, धरतीमा कुनैपनि तागतले गोर्खा जातिलाई झुकाउन वा फुटाउन सक्दैन। हामी एकबद्ध हुनु पर्दछ अनिमात्रै हामीमाथि निर्मम TMC सत्ताद्वारा गरिएको भेदभाव, यन्त्रणा, तानाशाही र अपमानविरुद्ध हामी मिलेर लड़्न सक्नेछौँ। लामो समयदेखि TMC सरकारको चिह्नारीनै बनिसकेको बाँड र राज गरको (Divide and Rule) रणनीति अब सफल नहोस् भनी हामीले सुनिश्चित गर्नु पर्दछ। जसरी २०१९ मा TMC लाई पराजित गर्न जनता एकबद्ध भएका थिए, त्यसरीनै यो तानाशाही सरकारलाई सधैँकालागि निर्मूल गर्न हामी एकबद्ध रहनु पर्दछ, अनिमात्रै हामीले हाम्रो क्षेत्र र जनताका निम्ति नयाँ विहानी र सुनौलो भविष्यलाई स्वागत गर्न पाउनेछौँ।
भाजपाले आफ्ना वाचाहरू पूरा गर्नेछ भनी म वचन दिँदछु तथा तपाईंहरूको मुस्कान र एकताको कारण म बन्नेछु।
*राजु विष्ट*
*लोकसभा सांसद, दार्जीलिङ्ग एवं*
*भाजपा राष्ट्रीय प्रवक्ता*