15/10/2025
मिरिक-सिलगढीको बैकल्पिक बाटो नोल-पुटुङमा २ दिनमा ३ वटा गाडी दुर्घटना
यस्तै बाटोमा गाडी कुदाउँने? कि बाटो चौडादार बनाउँने? प्रश्न जनताको
५ अक्टोबर बिहानीपखको पैह्रोले मिरिक -सिलगढीको सम्बन्ध बिच्छेद गरायो।दुधे बालसन नदीमाथिको स्टील ब्रीज भाँचिदियो। त्यसपछि बैकल्पिक बाटोको रूपमा टिङलिंङ फाटक भएर धुसेनी, मिलिकथुङ, नोलडाँडा,पुटुङ,खोप्रेल हुँदै बेलगाछी भएर सिलगढी पुग्ने यो बाटो प्रयोग गरियो,गरिन्दैछ,तर यो बाटोमा शुरुदेखि नैं जामको समस्या भएर गयो,के नहोस पनि सानो बाटो, धेरै गाडी कुदेपछि जाम हुन्छ नै।तर सोमबार र मंगलबार दुइ दिनमा ३ वटा गाडी दुर्घटना यहाँ भयो।
रिलिफका समानहरु बोकेर मिरिक गइरहेको तीनवटा पिकअप भ्यानहरु दुइ दिनमा तीन ठाउँमा पल्टियो,धन्न मान्छे केही भएनन्,तर स्थानीयवासीको प्रश्न यो छ कि - बाटोलाई बैकल्पिक प्रयोग गरेपछि यसको मरम्मति पनि त हुनुपर्यो, अहिले पनि पुटुङमा ठाउँ ठाउँमा पैह्रो गएको छ।
यसरी निरन्तर गाडीहरु कुदिरहे गाडीको लोडले फेरि पैह्रो जाँदैन भन्न मिल्दैन,यसको पनि बिकल्प छ ,नोलडाँडा देखि छोटाटिङलिङ सम्मको बाटो ठीकै छ तर छोटाटिङलिङ देखि खोप्रेलको बाटो जीर्ण अवस्थामा छ,डाउन मात्र गाडी जान सक्छ, यसलाई शीघ्र मर्मत गरेर यसलाई एकतर्फी ओह्रालो जानको निम्ति प्रयोग गरेर पुटुङको बाटोलाई उकालो मात्र जाने एकतर्फी गरिए ,यस बाटोमा जामको समस्या धेरै कम भएर जान्छ।
स्थानीय नोलडाँडा ,छोटाटिङलिङ,पुटुङ र खोप्रेलका जनताको मांग अनुसार यस बर्ष मात्र नभएर भविष्यमा पनि मिरिक-सिलगढी माझको बाटो कतै अवरुद्ध भए नोल -पुटुङकै बाटो प्रयोग गर्नैपर्छ, यसैले समयमा नै यस बाटोलाई पीडब्ल्युडी बिभागलाई हस्तान्तरण गरेर छोटाटिङलिङको बाटोलाई पनि यसैमा अन्तर्भुक्त गरि एकतर्फी प्रयोग गरिए आम मानिसहरुले जस्तै आपदामा पनि दुख नपाउने आम जनताको मांग रहेको छ।