09/08/2026
पदम्चेमा अखिल सिक्किम खतिवडा कल्याण संघद्वारा सम्मान कार्यक्रम सम्पन्न
पदम्चेस्थित पारिजात होमस्टेमा आज अखिल सिक्किम खतिवडा कल्याण संघ (पञ्जीकरण नं. E21/EAP/3236) को आयोजनामा एक भव्य सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सिक्किमका वरिष्ठ राजनीतिक व्यक्तित्व, पूर्व विधायक तथा पूर्व महाधिवक्ता श्री नरबहादुर खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको सञ्चालन संघका सल्लाहकार श्री विष्णु प्रसाद खतिवडा ले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका संयुक्त सचिव श्री प्रतीक खतिवडाले राख्नुभएको थियो। कार्यक्रममा श्री बी. के. खतिवडा, श्री एल. एन. खतिवडा तथा श्री चूडामणि खतिवडा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा खतिवडा परिचय ब्याज (Piri Badge) को औपचारिक विमोचन प्रमुख अतिथि श्री नरबहादुर खतिवडाको बाहुलीबाट सम्पन्न गरियो। उक्त ब्याजले खतिवडा समुदायको पहिचान र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।
यस अवसरमा समुदाय तथा समाजप्रति पुर्याउनुभएको योगदानको कदरस्वरूप डा. अभिषेक खतिवडा, जेनिता खतिवडा तथा उज्वल खतिवडालाई सम्मान गरिएको थियो। त्यसैगरी श्री के. एन. खतिवडा, श्री विष्णु कुमार खतिवडा, श्री एल. एन. खतिवडा, श्री चूडामणि खतिवडा, श्रीमती पार्वती खतिवडा तथा श्री विष्णुलाल खतिवडा लाई विशेष सम्मान अर्पण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संरक्षक श्री पवन खतिवडा ले संघको भावी योजना, व्यवस्थापन तथा समन्वय सुदृढीकरण, समुदायबीचको एकता अभिवृद्धि र समग्र विकासका विषयमा आफ्नो धारणा राख्नुभयो। त्यसैगरी संघका अध्यक्ष श्री मोहन खतिवडा ले आगामी कार्ययोजना प्रस्तुत गर्दै खतिवडा समुदायलाई एकता, सहकार्य र सामूहिक प्रयासमार्फत अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा पूर्व प्रमुख संरक्षक श्री विष्णुलाल खतिवडाले धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि, विशेष अतिथिहरू, सदस्यहरू तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमले खतिवडा समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।