08/07/2024
‘दिगो विकासका लागि खेती गरौँ’ भन्ने नाराका साथ आज गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा धान रोपाइँ गरियो। बर्मेक बर्थाङ जीपीयू-को रातोमाटे थाङसिङमा समष्टि विधायक लोकनाथ शर्माको विशेष सहभागीतामा बाजा बजाएर रोपाइँ सम्पन्न भएको थियो। कृषि तथा बाग्वानी विभागद्वारा बर्मेक बर्थाङ बेठी उत्सव समितिसँगको समन्वयमा सम्पन्न बेठी उत्सवमा विधायक लोकनाथ शर्माले उत्साहपूर्व भाग लिँदै कृषि सम्बन्धि श्रमसाध्य कार्यको महत्तव झल्काए। उत्सवमा सामेल अन्य सदस्यहरूले पनि खेतमा धान रोप्ने, हिल्याउने, बियाडबाट बिउ ओसार्ने, फ्याउरी, दाँदे अनि आली लाउने जस्ता कार्यहरूमा भाग लिएर कृषि कर्मको महत्तव र मूल्यमान्यता बोध गराए।
विधायक लोकनाथ शर्माले उपस्थित भेलालाई सम्बोधन गर्दै कृषि कर्म नै आत्मनिर्भरताको बाटो रहेको बताउँदै सबैले खेती गर्नतर्फ जोड लगाउन प्रोत्साहित गरे। उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आउने बित्तिकै कृषि क्षेत्र अनि कृषकवर्गलाई विशेष प्राथमिकता दिएको बताए। गत वर्ष गेजिङ बर्मेक समष्टिले राज्यपालको उपस्थितिमा धान रोपाइँ गर्ने स्वर्णिम अवसर प्राप्त गरेको पनि विधायक शर्माले स्मरण गरे। उत्सवमा विभिन्न पाठशालाबाट सहभागी भएकाहरूले खले गरामा असारे नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरूलाई पुस्तकीय ज्ञानका अतिरिक्त खेत खलियानको अनुभवको महत्त्व प्रदर्शन गरे।
उत्सवमा मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेशकुमार सुब्बा, सिक्किम दुग्ध सङ्घका अध्यक्ष यामकुमार शर्मा, अध्यक्ष एनएचपीसी रङ्गीत नगर गङ्गाराम भट्टराई, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घका अध्यक्ष नारायण खतिवड़ा, गेजिङ जिल्ला कृषि विभागका सल्लाहकार कर्म शेर्पा, मार्ताम खण्ड विकास अधिकारी कैलाश गुरूङ, पार्टीका पश्चिम जिल्लाध्यक्ष एबी लिम्बू, समष्टि अध्यक्ष सन्वीर लिम्बू, विभिन्न पाठशालाका प्रधानाध्यापक, प्राचार्य, शिक्षक, विद्यार्थी लगायत प्रगतिशील कृषकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। यस उत्सवमय अवसरमा मुख्यमन्त्री कृषि आत्म निर्भर योजना अन्तर्गतका लाभार्थीहरूलाई मुख्य अतिथिबाट चेक वितरण गरियो। आयोजक समितिले मुख्य अनि विशिष्ट अतिथिलाई स्मृति चिन्ह साथै प्रशंसा पत्रले सम्मान – अभिनन्दन गरेको थियो।