07/12/2025
अछाम जिल्लामा होटल तथा लज व्यवस्थापन तालिम संचालन
अछाम जिल्लामा आईतबार बाट होटल तथा लज व्यवस्थापन तालिम संचालन भएको छ । जिल्लामा पर्यटन प्रवद्र्धन र रोजगारी सृजना गरी होटल व्यवसायलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी होटल व्यवसायीलाई होटल तथा लज सञ्चालनका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट सीप सिकाइने घरेलु तथा साना उद्योग कार्यालय अछामका कार्यालय प्रमुख भिम बहादुर सिंहले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा संचालन भएको तालिममा अछाम जिल्लाका विभिन्न बजार क्षेत्रमा होटल व्यवसाय गरिरहेका होटल व्यवसायीहरुको सहभागिता रहेको छ । कार्यालय प्रमुख सिंह को अध्यक्षतामा भएको तालिमको अछामका प्रमुखजिल्ला अधिकारी यज्ञ बहादुर बुढाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुखजिल्ला अधिकारी बुढाले तालिमलाई अवसरको रुपमा लिदै राम्रो सिप सिकेर आफ्नो व्यवसयालाई फस्टाउन आग्रह गर्नुभएको छ । सीप सबैभन्दा महत्वपूर्ण कुरा भएकाले यसलाई आफ्नो जीबनमा लागुगरि उदारणीय होटल व्यवसायी बन्न सुझाव दिनुभएको थियो । उद्योगबाणिज्य संघ अछामका अध्यक्ष बम बहादुर रावलले समृद्धिका लागि व्यवसाय सबैभन्दा महत्वपूर्ण कुरा भएकाले यसलाई नमुना व्यवसायीक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । व्यवसाय बाट मात्रै हाम्रो गरिबी र पछौटेपनको अन्त्य हुन सक्ने भएकाले पर्यटकहरुको मन जित्नेगरी होटल व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । तालिमका प्रशिक्षक श्रीराम तिमीलसैनाले १० दिनको अवधीमा सहभागि होटल व्यवसायलाई धेरै कुराहरु सिकाउने बताउनुभएको छ । सहभागिहरुले इच्छा र चाहाना देखाउनुभयो भने नमुना होटल व्यवसायी बनाउने बताउनुभयो ।
तालिममा होटलको सरसफाई, संचालकले ध्यान दिनुपर्ने कुरा, ग्राहकहरुलाई गर्ने व्यवहार यी सबै कुराहरु अभ्यासकै रुपमा सिकाईने प्रशीक्षक तिमीलसैनाको भनाई छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका नरेश डंगोलले तालिम लगीसकेपछी प्रशिक्षार्थिको व्यवसायमा सकारात्मक परिवर्तन आउने बताउनुभयो । स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न बाट कसरी मिठो परिकार बनाउन सकिन्छ यस तर्फ व्यवसायलाई केन्द्रित गराईने जानकारी गराउनुभएको थियो ।
तालीम लिएका र नलिएका व्यवसायीहरुले गरेको व्यवसायमा धेरै भिन्नता हुने भएकाले यसलाई अवसरको रुपमा लिन आग्रह गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रममा अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, कोष नियन्त्रक दिवसराज घिमिरे, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, कान्तीपुर राष्ट्रि दैनिकका उप सम्पादक मेनुका ढुंगाना, राष्ट्रिय समाचार समितिका सुशील भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्यमविकास सहजकर्ता चेतराज पनेरुको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन कम्प्युटर अपरेटर जनक ढुंगानाले गर्नुभएको थियो ।