02/06/2026
बीएमओएच सुकना र रेञ्ज अफिसरसित भाजपा टोलीको भेटवार्ता
भाजपा सुकना-पानीघट्टा मण्डलको एउटा प्रतिनिधि टोलीले सुकना फरेस्ट रेञ्ज अफिसर दीपक रसाइलीसित भेट गर्दै विविध विषयमा चर्चा गऱ्यो। यस अवसरमा E.D.C. (Eco-Development Committee)-को नयाँ कमिटी गठन गरिनुपर्ने अनि यसका भावी कार्यदिशाको विषयमा विस्तृत छलफल गरियो। यसका साथै, सुकना क्षेत्रको विकासलाई ध्यानमा राख्दै विगत केही समयदेखि बन्द रहेको पार्क अनि पर्यटनीय क्षेत्रहरूलाई पुनः सञ्चालन एवं सुदृढ गर्ने विषयमा कुराकानी गरिएको बताइएको छ।
उक्त प्रतिनिधि टोलीको अगुवाइ भाजपा सुकना-पानीघट्टा मण्डल अध्यक्ष अजय शर्माले गरेका थिए।
अर्कोतिर, यसअघि पार्टीको सोही प्रतिनिधि टोलीले सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण गर्दै खण्ड स्वास्थ्य अधिकारी एवम् सम्बन्धित कर्मचारीहरूसित बैठक गरेको थियो। यस अवधि स्वास्थ्य केन्द्रमा के-कस्ता अभाव र आवश्यकताहरू रहेका छन्, सोबारे टोलीले जानकारी लिने काम गऱ्यो। यसका साथै स्वास्थ्य केन्द्रमा ओपीडीमा डाक्टरको संख्या कम भएको लगायतका अन्य धेरै समस्या तथा जनगुनासोमाथि पनि टोलीले अधिकारीसमक्ष कुरा राखेको भाजपा नेता अजय शर्माले जानकारी दिएका छन्।