27/07/2025
संस्मरण र आत्मसमीक्षा
गोर्खाल्याण्ड आन्दोलनका सहिद र अधुरो सपना-
अर्जुन शर्मा निरौला, गीतखोला- कालेबुङ।
आज हामी १९८६ सालदेखि यता सुरु भएको गोर्खाल्याण्ड आन्दोलनका शहिदहरूलाई सम्झिरहेका छौं तर के हामी उनीहरूको सपनालाई सम्झिरहेका छौं त? के हामी सोच्न तयार छौं त -किन हाम्रो आन्दोलन अधुरो रह्यो?
आज जुलाई सन् २७ जुलाई सहिद दिवस। सन् १९८६ सालमा सुरु भएको गोर्खाल्याण्ड आन्दोलनका शहिदहरूको स्मृति दिवस हो। त्यो दशक वा दिनहरूमा गोर्खा समुदाय आफ्नो अधिकार र पहिचानको माग लिएर सशस्त्र सडकमा उत्रिएका थिए। युवाहरू, विद्यार्थीहरू,महिलाहरू, वृद्धहरू सबैले रगत बगाएका थिए छुट्टै वासभूमिको एउटा सुन्दर सपना बोकेर त्यो बेला। उनीहरूको सपनालाई थियो- यो आन्दोलनले हाम्रो इतिहास, भाषा, संस्कृति, अस्तित्वलाई सम्मान दिओस तर दुःखको कुरा, आज मोटामोटी ४० वर्ष बितिसक्दा पनि त्यो सपना अझै अधुरो छ। हाम्रा बिर सहिदको सपना, गोर्खाल्याण्ड अझै राज्य बनेको छैन र अझै गम्भीर प्रश्न उब्जन्छ । यतिका समय बितिसक्दा पनि भारतेली गोर्खाको सपना पुरा भएन ,किन?
गोर्खाल्याण्ड वा छुट्टै राज्यको आन्दोलन विफल भयो भन्नु जनताको भावना कमजोर भयो भन्नु होइन। संसारमा विभिन्न जातिहरूले गरेका आन्दोलनहरूमा कमै आन्दोलनलेमात्र यति बलिदान दिएका छन् जति हामीले देखायौं वा दियौॅ तर हामी आफैंले आफ्नो आन्दोलनलाई आफैॅले कमजोर बनायौं। हाम्रो सबैभन्दा ठूलो कमजोरी थियो - नेतृत्व। नेता तथा आन्दोलनका खाका तयारगर्नै बुद्धिजीवी तथा नेतृत्वका जमातले कहिल्यै दीर्घकालीन रणनितिक योजना, स्पष्ट दृष्टिकोण वा साझा रणनीति बनाउनेतर्फ ध्यान दिएन्न वा विफल बने। आन्दोलन गुट वा खेमामा बाँडियो, नेताहरू पद र सत्ताको पछि लागे। हिजो जसले आन्दोलनलाई अगाडि सारे, आज उनीहरू दिल्ली रषकोलकोताको ढोका ढक्ढक्याउँदै पदको सोख र लालचमामा रमाइरहेका छन्।
आन्दोलन असफल हुनु ,यति ठूलो जनभावनाको आन्दोलनलाई संस्थागत बनाउन नसकिनु, कानुनी र संवैधानिक रुपमा बलियो बनाउन नखोजिनु अर्को प्रमुख कारण हो। यसको निम्ति न त संविधान विज्ञहरूको टोली बन्यो, न त गम्भीर वा महत्त्वपूर्ण दस्तावेज नै तयार भयो। आन्दोलन भावनात्मक मात्र बन्यो, राजनीतिक र रणनितिक ढाँचाविहीन। शोध, तथ्य, कूटनीति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज पुग्नै सकेन वा हामीले पुर्याउॅन सकेनौॅ।
आन्दोलनका सफलता र असफलतालाई लिएर कहिले घोरिएर चिन्तन्न - मनन गरिने कोशिष गरिएन।हाम्रोमा स्पष्टता कहिल्यै आएन। हामी साँच्चिकै राज्य मागिरहेका थियौं कि कुनै सिमित सहुलियत रहेको अर्धराज्य, परिषद, DGHC , GTA जस्ता सम्झौतारूपी संरचना? हाम्रो मूल मांगको रूपान्तरणले जनतालाई अन्योलमा पार्यो र आन्दोलन स्वयं दिशाहीन बन्यो। विभिन्न कालखण्डमा उदाएका छुट्टैराज्यवादी नेताहरूले आफ्नो सुविधाअनुसार जुनसुकै समयमा सम्झौता गर्न तयार भइरहे अनि जनताको मनमा अविश्वास जन्मियो। छुट्टै राज्यको आन्दोलनले राज्यरूपी गर्वधारण गर्न सकेन।आन्दोलन जनताको आन्दोलन रहेन तर त्यो त न उनीहरूको वा नेतृत्वको र सरकार समक्ष मागिखाने भाडोभयो। पर्व -पर्वमा भाका फेरिफेरि बजाउॅने मादल बन्यो। चुनावी राग बन्यो
प्रत्येक आन्दोलनमा नै जनताको निरन्तर सहभागिता जनायो । बुडापापा ,युवा- विध्यार्थी सबै सहभागी बने सन् १९८६ को आन्दोलन कालदेखि नै जोस्सिला युवाहरू सडकमा थिए तर आज कोही पाको बनिसकेका छन्। कति बिते अनि धेरै विदेशिएका छन्। उतै हराईरहेका छन्। महिलाहरू घरभित्र गुम्सिन बाध्य छन्, वृद्धहरू थाकेका छन्। यो विगतका वर्षहरूमा गरिएका छुट्टै राज्यको आन्दोलन साॅचो रूपमा जनमुखी बन्न सकेन। केवल भाषण र नारामा सीमित भयो। त्यो आन्दोलन जसले कहिल्यै योजना, कार्यनीति वा वैकल्पिक समाधानको सहि मार्गरेखा कोर्न सकेन।
यसबीच, भारतीय संघीय राजनीतिले पनि हाम्रो मागलाई कहिल्यै गम्भीरतापूर्वक लिएन। केन्द्रले हामीलाई राजनीतिक कार्डको रूपमा मात्रै प्रयोग गर्यो। राज्य सरकारले (पश्चिम बंगाल) सदैव पहिचान र भाषिक अधिकारमाथि अंकुश लगाउने प्रयास गर्यो। तर सबैभन्दा दुखद कुरा, हाम्रो नेतृत्वले केन्द्र र राज्य दुबैसँग सठिक समन्वय गर्न सकेनन। आन्दोलन अफैॅआफ मुर्झायो।
साँच्चो कुरो के हो भने, आन्दोलन असफल भएको होइन तर अधुरो रहेको मात्र हो तर यो अधुरोपन अझै धेरै समय तन्किने हो भने, त्यो छुट्टै राज्यको सपना दिवा स्वप्न बन्नेछ। आजको दिन हामीले आत्मसमीक्षा गर्नैपर्छ। हामी कसरी र किन र कहाॅ चुक्यौं? अब पनि पुरानै परिपाटीमा मुद्दा उठाउने हो भने, फेरि पनि इतिहास दोहोरिन्छ।
अबको आन्दोलन स्पष्ट दृष्टिकोणमा आधारित हुनुपर्छ। नितिगत योजना, साझा नेतृत्व र सशक्त ईमानदार नयाँ पुस्ताको सहभागिताले मात्र गोर्खाल्याण्डको सपना पुरा हुनसक्छ। शहिदहरूका सपना पुरा गर्नु हो भने भाषणबाट होइन, भावुक कुरा गरेरमात्र होइन तर निर्णायक र स्पष्ट कार्यनीति बनाएर, जनतालाई फेरि भरोसा दिएर, मुद्दालाई संस्थागत बनाएर अगाडी बड्ने हो भन्ने हाम्रो छुट्टै राज्यको मुद्दा फत्ते हुन सक्नेछ।
सहिदको आत्मले हामीलाई प्रश्न गरिरहेछ। हाम्रो वेदीहरूमा वा हाम्रो सम्झनामा कहिलेसम्म फूलमाला र धुपदीप मात्र जलाईरहने?
अझै पनि हामी निदाईरह्यौ भने, इतिहासले कहिल्यै माफ गर्ने छैन।
शहिदहरू अमर रहून्। गोर्खाल्याण्डको सपना पुरा होस्।
जय गोर्खा।
जय गोर्खाल्याण्ड।
#शहीददिवस२०२५ #बलिदान
#गोर्खा #गोर्खाल्याण्ड