09/12/2025
विभागीय पद र ओहोदालाई जहिले पनि आफ्नो कार्यालयमै छोड़ेर घर फर्कन्थे- सन्तोष कुमार आले
सोरेङ: ८ दिसम्बर, २०२५
सोरेङ जिल्लाअन्तर्गत सुल्डुङ कामलिङ ग्राम प्रशासन केन्द्रमा सुल्डुङ-कामलिङ नागरिक समाजको तत्वावधानमा भर्खरै अवकाशप्राप्त हुनुभएका सोरेङ जिल्ला प्रशासनिक केन्द्रका अतिरिक्त जिल्लापाल साथै दोस्रो परी पुरस्कारले विभूषित साहित्यकार, कवि, इतिहासकार सन्तोष कुमार आलेलाई सम्मान जनाउने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुरूमा प्रमुख अतिथि सन्तोष कुमार आले लगायत आमन्त्रित अतिथिगणलाई आयोजकको तर्फबाट माल्यार्पण गरिकन आतिथ्य स्वागत जनाए भने दीप प्रज्ज्वलन गरेर कार्यक्रमको श्रीगणेश गरेको थियो।
स्वागत उद्बोधनको रूपमा लोवर सुल्डुङ प्राथमिक पाठशालाका स-साना बाल कलाकारहरूले सामूहिक नृत्य प्रस्तुत गरेर उपस्थित् अतिथिगणलाई मन्त्रमुग्ध पारे भने मङ्गलबारे, छुचेन निवासी कवि/गीतकार/कथाकार सोनाम दोङकृत मङ्गलमय मङ्गलबारे गीति एल्बमको पनि यसै कार्यक्रमको पावन अवसरमा विधिवत् लोकार्पण गरियो जुन गीति एल्बमले मङ्गलबारे-सुल्डुङ-कामलिङ वरिपरिका पर्यटकीय स्थलहरूको इतिहास र पहिचान बोकेको थियो।
आयोजक पक्षको तर्फबाट अम्बर राणाले सन्तोष कुमार आलेले जाति, साहित्य, समाज र विभागप्रति पुऱ्याएको नि: स्वार्थ सेवा र योगदानको झिनो रूपमा भए पनि मूल्याङ्कन गर्ने अभिप्राय लिएर सो सम्मान कार्यक्रम नागरिक समाजले आयोजना गरेको बताए।
विभिन्न सांस्कृतिक नृत्य र गीतहरूको सङ्गालोले आकर्षित बनेको यस अवकाशप्राप्त सम्मान कार्यक्रममा हितेश दियालीले भजन शिरोमणि भक्तराज आचार्यको कालजयी गीत `हजार सपनाहरूको माया लागेर आउँछ` गीतलाई सुमधुर अनि उत्कृष्ट ढङ्गमा प्रस्तुत गरेका थिए भने गायक चन्द्र योञ्जन अनि अन्य स्थानीय कलाकारहरूले पनि आफ्नो अवाक् प्रस्तुति दिएका थिए।
यस अतिरिक्त, लाफा ब्याण्ड सुल्डुङको तर्फबाट बाँसुरी वाधक सावन थापाको मार्मिक बाँसुरीको धुनले कार्यक्रमको थप सुगन्ध र शोभा बढ़ाएको थियो।
अवकाशप्राप्त सम्मान कार्यक्रमको मुख्य आकर्षण भने सन्तोष कुमार आलेलाई अभिनन्दन जनाउनु थियो जसमा सुल्डुङ-कामलिङ ग्राम प्रशासनिक केन्द्र सपरिवार अनि सुल्डुङ-कामलिङ नागरिक समाजको तर्फबाट उहाँलाई उच्च सम्मानको साथमा अभिनन्दन जनाइयो जुन अभिनन्दन पत्रहरू कामलिङ उच्चत्तर माध्यमिक विद्यालयकी नेपाली स्नातकोत्तर शिक्षिका प्रियानीर मगर अनि युवाकवि सोनाम पाल्जोर तामाङद्वयले स्पष्ट अनि उत्कृष्ट ढङ्गमा पठन गरेका थिए। यसको साथै क्षितिज क्लब तिञ्जेरबुङ, सुल्डुङ-कामलिङ आगानवाडी सपरिवार लगायत हेल्थ एण्ड वेलनेश सेन्टर सुल्डुङले पनि उहाँलाई पुष्पगुच्छासहित स्मृति चिन्हद्वारा सम्मान जनाए।
प्रमुख अतिथिका रूपमा रहेका अवकाशप्राप्त अतिरिक्त जिल्लापाल एवं साहित्यकार/ इतिहासकार सन्तोष कुमार आलेले आफ्नो अध्यक्षीय सम्बोधनमा एकजना अवकाशप्राप्त कर्मचारी औं अधिकारीलाई यस प्रकारको सम्मान कार्यक्रम आयोजना गरेर सम्मान अभिनन्दन जनाउने पहल विरलै मात्रामा हुन्छन् भन्दै सुन्दर अनि शिष्टशैलीमा यति भव्य कार्यक्रम आयोजना गरेर आफूले पुऱ्याएको तुच्छ सेवा र थोरै योगदानको यति ठूलो र भव्य परिपाटीमा मूल्याङ्कन गरेर आफूलाई अभिनन्दन जनाउँदा हुनसम्मको हर्ष र गर्व महसुस गरेको कुरा बताए। एकजना अवकाशप्राप्त सरकारी कर्मचारीलाई यस किसिमको भव्यताको रूपमा सम्मान जनाएको अहिलेसम्म छैन होला भन्नुहुँदै आफू विभागको विभिन्न पदमा कार्यरत रहँदा आफ्नो पद र ओहोदालाई जहिले पनि कार्यालयमै छोड़ेर घर फर्कन्थेँ भने।
आफ्ना माता र पिताको सम्झना गरेर भावुक बन्दै उनले आफ्नो ईश्वरतुल्य आदर्श माता र पिताले सिकाएका संस्कार र शिष्टतालाई जीवन दर्शन मानेर हालसम्म आफू भूँइ स्तरको मान्छे बनेर बाँचेको कुरा साझा गरे। आफू जन्मिएको गाउँ र आफूले बाँचेको समाजमा आउँदा विभागको एकजना अधिकारी भएर आउनको साटो गाउँमा सबैले चिनिने देउराली कान्छा बनेर आउने गर्दथेँ भने। आफ्नो स्वेच्छामा कहिले पनि पदोन्नति मागिनँ भन्दै विशेष आफ्नो मन्तव्यमा उनले आफूलाई विश्वास र भरोसा गरेर पदोन्नति दिएर विभिन्न जिम्मेवारीपूर्ण पदमा सेवा पस्किने सुअवसरहरू प्रदान गरेबापत् पूर्व सरकार अनि वर्तमान सरकार साथै मुख्य मन्त्री प्रेम सिंह तामाङ गोलेप्रति आभारी र कृतज्ञ रहेको कुरा साझा गरे। हाम्रो मानव जीवन भनेको बिजुलीको एक चम्काइ जस्तो हो, घड़ीको काटा जस्तो हो भन्ने सन्देश बाँड्नुहुँदै आफूलाई दिएको मान, सम्मान र श्रद्धा आफूसँगै सदैव रहिरहोस् भन्ने ईश्वरप्रति कामना पनि गरे। आफूले आर्जेका सफलताहरूको पछि आफ्नी जीवनसङ्गिनी दीपा आलेको साथ र सहयोग सधैँ रहेको बताउँदै आफ्नो विभागीय कार्यकालमा यदि कसैको मन दुखाएको खण्डमा क्षमाप्रार्थी छु भने।
यस अवकाशप्राप्त सम्मान कार्यक्रममा तिमी चिया बोर्डका अध्यक्ष आर० के० वालिङ, खानिशिरबुङ-सुल्डुङ-कामलिङ प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य डी०के० मगर, एनएचपीसी-का अध्यक्ष निमा शेर्पा, विशेष कार्य अधिकारी प्रकाश गुरूङ, पञ्चायत सभापतिद्वय ग्याल छिरिङ लेप्चा अनि निरज दोङ, बीडीओ सिक्किप वसन्त मोक्तान, स्फुरण साहित्य प्रकाशन मङ्गलबारेका अध्यक्ष बी०बी० गुरूङ, पूर्व जिल्ला पञ्चायत सदस्या कलावती तामाङ, मङ्गलबारे उच्चत्तर माध्यमिक विद्यालयका पूर्व उप-प्राचार्य गौरीमान थापा, मङ्गलबारे खण्ड प्रशासनिक केन्द्रका उपनिर्देशक मनोरथ राई, प्रधानाध्यापिकाद्वय एड्रिना राई अनि मारमीत लेप्चा, उगेन्द्र राज दोङ, पिटर लेप्चा, जे०बी० राई, डा० अमृता मगर आदिको उपस्थिति रहेको थियो।
अम्बर राणा कार्यक्रम प्रस्तोता रहेको यस कार्यक्रममा धन्यवाद ज्ञापन वीर बहादुर तामाङले दिएका थिए।