31/10/2025
वृहत् राजनीतिक संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणा
काठमाडौँ, कार्तिक १४ – जेन–जी पुस्ताले सुशासनका पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि उत्पन्न नयाँ राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण र दीर्घकालीन रूपान्तरणका उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वृहत् राजनीतिक संवादको पहल अघि सारेको छ।
रास्वपाले समान सोच र शैली भएका राजनीतिक दल, स्वतन्त्र विचारक, अभियन्ता तथा नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच "वृहत् राजनीतिक संवाद" शीर्षकमा खुला छलफल कार्यक्रम आयोजना गर्न लागेको हो। सो कार्यक्रम आगामी कार्तिक १४ गते शुक्रबार, दिउँसो १ बजे काठमाडौँको नेपाल हाउस, बालुवाटारमा हुने भएको छ।
रास्वपाका अनुसार, गत तीन वर्षको संघर्षशील संसदीय यात्राबाट प्राप्त अनुभवको जगमा हाल विभिन्न रूपले भइरहेका राजनीतिक पहल र प्रयासलाई एकरूपता दिन तथा सहकार्यका सम्भावना खोज्ने उद्देश्यले यस संवादको आयोजना गरिएको हो।
कार्यक्रमका प्रस्तावित उद्देश्यहरूमा —
१. आन्दोलनको उत्पत्ति, परिणाम र सुधारका सन्देशबारे साझा बुझाइ विकास गर्ने,
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने,
३. आसन्न प्रतिनिधिसभा निर्वाचनलाई उन्नत रूपान्तरणका लागि रणनीतिक साझेदारीको अवसरका रूपमा उपयोग गर्ने — विषयहरू रहेका छन्।
रास्वपाले प्रवास र स्वदेशमा रहेका नयाँ राजनीतिक शक्ति, स्वतन्त्र अभियन्ता र जनताबीच सार्थक सहकार्य र साझा दृष्टिकोण निर्माण हुन आवश्यक खुला संवादको सुरुवात यस कार्यक्रममार्फत गर्ने अपेक्षा व्यक्त गरेको छ।