20/09/2026
जापानको राजनीतिमा नेताहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठिरहेका बेला जापानी महिला मतदाताहरूमाझ गरिएको एक सर्वेक्षणले ‘सबैभन्दा अविश्वासिला नेताहरू’को सूची सार्वजनिक गरेको छ। १ हजार जापानी महिला सहभागी उक्त सर्वेक्षणमा जनताको विश्वास गुमाएका शीर्ष १० राजनीतिज्ञहरूको नाम बाहिर आएको हो। गत वर्ष अक्टोबरमा जापानमा पहिलो महिला प्रधानमन्त्री चयन भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग देखिए तापनि हालका दिनमा सरकारको जनसमर्थन निरन्तर घटिरहेको छ। गत जुलाईको मतसर्वेक्षणमा सरकारको लोकप्रियता दर घटेर पहिलोपटक ५० प्रतिशतभन्दा तल झर्दै ४० प्रतिशतको हाराहारीमा पुगेको छ।
जापानमा चुलिँदो महँगी तथा कमजोर कूटनीतिक नीतिका कारण नेतृत्वप्रति जनआक्रोश बढिरहेको छ। विशेषगरी अमेरिकी ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)की जापानी अध्यक्ष तोमोको आकानेविरुद्ध प्रतिबन्ध लगाउँदा युरोपेली मुलुकहरूले चर्को विरोध जनाएका थिए। तर जापानी प्रधानमन्त्रीले केवल ‘दुःखद’ मात्र भनेर कमजोर कूटनीतिक लाचारी देखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। आन्तरिक तथा बाह्य दुवै मोर्चामा नागरिकको विश्वास गुम्दै गएको अवस्थामा यो सर्वेक्षण गरिएको हो।
सर्वेक्षण अनुसार अविश्वासिला नेताहरूको सूचीको १० औँ स्थानमा डेमोक्र्याटिक पार्टीका पूर्वप्रधानमन्त्री योसिहिको नोदा परेका छन्। विगतमा प्रधानमन्त्री हुँदा उपभोग कर वृद्धिको नेतृत्व गरेका कारण उनीमाथि अझै पनि कर वृद्धिकै पक्षधर रहेको आरोप लाग्ने गरेको छ। साथै चुनावी पराजयको जिम्मेवारी नलिएको तथा वर्तमान प्रधानमन्त्रीसँग एउटै अध्ययन पृष्ठभूमिका कारण निकटता देखाएको भन्दै मतदाताहरूले उनको नेतृत्वमाथि प्रश्न उठाएका छन्।
यस्तै, सूचीको नवौँ स्थानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीकी राष्ट्रिय सभा सदस्य एरिको इमाई परेकी छिन्। सन् २०२३ मा पार्टीको महिला विभाग फ्रान्स भ्रमणका बेला भएको फजुल खर्च विवाद, त्यसको प्रतिवेदन बुझाउने वाचा पूरा नगरेको र पुराना व्यक्तिगत विवादका कारण उनीप्रति जनताको चर्को आक्रोश छ। मतदाताहरूले उनको योग्यता र विवादास्पद पृष्ठभूमिका कारण राजीनामा समेत माग गरेका छन्। देशका शीर्ष नेताहरूलाई पछि पार्दै शीर्ष स्थानमा पर्ने नेताप्रति पनि नागरिकको सुरक्षा गर्न नसकेको गम्भीर आरोप लागेको छ।