03/10/2026
टोकियो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जापानबाट नारायण सुवेदीले एशिया-प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली जनसम्पर्क समिति जापानका पूर्वसभापति तथा पुर्व महासमिति सदस्य समेत रहेका सुवेदीले प्रवासमा रहेका नेपालीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन् । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरेपछि प्रवासबाट विभिन्न व्यक्तिहरूले उम्मेदवारीको तयारी अघि बढाएका छन्। हालैको विवरणमा जापानबाट नारायण सुवेदी केन्द्रीय सदस्यका आकांक्षी रहेको उल्लेख छ । सुवेदी नेपाली जनसम्पर्क समिति जापानको नेतृत्व गरिसकेका व्यक्ति हुन्। जापानमा लामो समयदेखि सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सुवेदी यसअघि गैरआवासीय नेपाली संघ जापानसँग पनि जोडिएका थिए । प्रवासको संगठनात्मक अनुभवलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित सुवेदीले उम्मेदवारी अघि सारेका छन्। उनको उम्मेदवारीसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जापानबाट प्रवास प्रतिनिधित्वको विषय थप चर्चामा आएको छ।