
13/07/2025
राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित संघीय नमुना युवा संसद -२०८२ सम्पन्न भएको छ। युवा नेतृत्व विकासका लागि आयोजना गरिएको चारदिने नमुना संसद अभ्यासको अन्तिम दिन सभामुख देवराज घिमिरेले प्रत्यक्ष अवलोकन गरेका छन्। देशभरवाट स्थानीय तह , प्रदेश हुंदै संघीय तहमा छनौट भएर आएका ८० जना युवा नमुना युवा संसद अभ्यासमा सहभागी थिए। नमुना संसद सञ्चालनको प्रत्यक्ष अवलोकन गरेपछि आयोजित समापन समारोहमा सभामुख घिमिरेले मुलुकले अवलम्बन गरेको संवैधानिक अभ्यास आजका युवाले वुझ्न र सिक्न आवश्यक रहेको वताए। घिमिरेले नयां पुस्ताले परिवर्तनका मुल्य आत्मसात् गरे मात्र लोकतन्त्र मजवुद हुने वताए। राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म सहभागी गराउनुपर्नेमा जोड दिए। बस्नेतले मुलकको कुल जनसङ्ख्याको ४२.५६% हिस्सा ओगट्ने युवा जनसङ्ख्यालाई भविश्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार वनाइनुपर्ने वताए।