05/11/2025
कार्तिक २९ गते शनिबार प्रथम मंगलबारे क्रस कन्ट्री रन २०८२ हुँदै
फाल्गुनन्द जयन्तीको अवसर पारेर उर्लाबारीमा पहिलो पटक बिराट मेडिकल कलेज टिचिङ हस्पिटल प्रथम मंगलबारे क्रस कन्ट्री रन २०८२ हुने भएको छ।
बुधबार दिउँसो उर्लाबारी -३ किसान चोकस्थित प्रार्थना रिट्रीट स्पोर्टस् , लज एण्ड बारमा आयोजित पत्रकार सम्मेलनबीच सो कार्यक्रमको बारे जानकारी गराईएको हो ।
उर्लाबारी वडा नम्बर ३ स्थित क्रस कन्ट्री क्लब र मंगलबारे युवा क्लवको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता यहि कार्तिक २९ गते शनिबार आयोजना हुनेछ ।
क्रस कन्ट्री क्लबका अध्यक्ष प्रभू राईकाअनुसार मंगलबारे चोकबाट सुरु हुने उक्त दौड केरखाली चोक – सिरुझार स्कुल – सुनझोडा माध्यमिक विद्यालय – शान्ति आधारभूत विद्यालय – प्रस्तावित सालबारी रंगशाला हुँदै महेन्द्र राजमार्गमार्गबाट पुनः मंगलबारे चोकसम्म पुग्नेछ। खुलातर्फ दौडको कुल दुरी ११ किलोमिटरको रहने अध्यक्ष राईले बताए । साथै भेट्रान र बालबालिकातर्फ ५ किमी दुरी रहेको उनले बताए ।
प्रतियोगितामा खुला र भेट्रानतर्फ प्रवेश शुल्क ४ सय र यू–१५ तर्फ ३ सय ५० तोकिएको छ।
सहभागी खेलाडीका लागि टी–सर्ट, खाजा, जुसपानीको व्यवस्था गरिएको छ भने टाढाबाट आउने धावकका लागि खाद्यान्न र आवासको व्यवस्था समेत रहने आयोजकले बताएको छ ।
त्यस्तैगरी, विभिन्न उमेर समूहअनुसार फरक–फरक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खुला समूह (महिला/पुरुष)तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार ५ सय र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन्।
यस्तै यू–१५ समूहमा (महिला/पुरुष) प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार प्रदान गरिनेछ। भेट्रान समूहका लागि समेत यू–१५ सरहकै पुरस्कार तय गरिएको आयोजकले जनाएको छ । साथै आयोजकले खुलातर्फ दशौं स्थानसम्म र यू -१५ तथा भेट्रानतर्फ सातौं स्थानसम्म विजेता घोषित हुने खेलाडिहरुलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । यस्तै उनीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले समेत सम्मानित गरिने बताईएको छ।
कार्यक्रम संयोजक हेमन्त लावतीकाअनुसार प्रतियोगितामा भारतको मिरिक र सिलगुडीसहित नेपालको भोजपुर, उदयपुर, खोटाङ, चितवन, गुल्मी लगायतका जिल्लाबाट धावक–धाविकाहरुको सहभागिता रहनेछ।
त्यस्तैगरी क्लबका अध्यक्ष राईले दौडमा २४ जना पुरस्कार विजेता महिलाहरुदाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट गिफ्ट ह्याम्परको व्यवस्था गरिएको बताए । साथै पुरस्कार विजेता सम्पुर्ण खेलाडीहरुलाई १ वर्षको लागि हस्पिटलको तर्फबाट नि:शुल्क ओ.पी.डी. सेवा प्रदान गरिएको उनले बताए । यस्तै, उनीहरुलाई उपचारको क्रममा बेड चार्जमा शत प्रतिशत छुट, ल्याब टेष्टमा ५० प्रतिशत, एक्स्रे यूईसजी, सिटी स्क्यान र एमआरआई सेवामा २५ प्रतिशत र औषधीमा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिए ।
विराटनगरस्थित उक्त टिचिङ हस्पिटल सो प्रतियोगिताको टाईटल स्पोन्सरको रुपमा रहेको छ ।
सो प्रतियोगितामा ३ सय ५० भन्दा बढि धावकहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
क्लवका अध्यक्ष राईका अनुसार रन आयोजना गर्नुको मूख्य उद्देश्य युवा वर्गमा स्वास्थ्य रहन प्रेरित गर्दै यसको महत्व र समाजमा सकरात्मक सन्देश फैलाउने साथै खेलकुदप्रति उत्प्रेरणा जगाउने हो।
सो कार्यक्रममा होटल पार्टन प्रार्थना रिट्रिट, स्पोर्ट लज एण्ड बार रहेको छ भने इन्टरनेट पार्टनर भाय नेट, उर्लाबारी रहेको छ । त्यस्तै स्थानिय हस्पिटल पार्टनर अरनिको हस्विटल प्रा.लि. र मिडिया पार्टनर सञ्चार क्लब नेवाल, उर्लाबारी रहेको छ ।
सो कार्यक्रमको लागि करिव ३ लाख ५१ हजार ७ सय रुपैया खर्च हुनसक्ने अनुमान गरिएको छ । जसको आर्थीक स्रोतको रुपमा विभिन्न संघसंस्थाबाट प्रायोजनस्वरुप प्राप्त नगद तथा जिन्सी सामान लगायत विभिन्न व्यक्तिहरु रहेका छन्।