27/08/2026
बाढी प्रभावित नेपालका लागि भारतले पठायो १० टन राहत सामग्री
नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि भारतले १० टन अत्यावश्यक राहत सामग्री र औषधि पठाएको छ।
भारतीय वायुसेनाको C-130J सैन्य परिवहन विमानमार्फत बुधबार राति पहिलो चरणको राहत सामग्री नेपाल पठाइएको हो। राहत सामग्रीमा अस्थायी आवासका सामग्री, कम्बल, सरसफाइ सामग्री, सोलार बत्ती तथा अत्यावश्यक औषधि समावेश रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतले थप राहत सामग्री पठाउन C-17 र C-130 विमान परिचालन गर्ने तयारी गरेको छ। उद्धार तथा प्रभावितहरूको सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टरसमेत परिचालन गर्ने तयारी रहेको जनाइएको छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले संकटको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै आवश्यक सबै सम्भव मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन।
भारतका विदेशमन्त्री एस. जयशंकरले पनि बाढी प्रभावितहरूको सहयोगका लागि मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाइएको जानकारी दिँदै विपद्को सामना गर्न भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।
नेपालमा आएको बाढीपछि उद्धार तथा राहत कार्य जारी रहँदा विभिन्न मुलुक र अन्तर्राष्ट्रिय निकायबाट समेत सहयोग परिचालन भइरहेको छ।