12/09/2025
नत्र अल्फा पुस्ताकाे रगतमा यसरी नै हिड्न हामी आजैदेखि तयार रहनुपर्छ ....
जुन हिसाबले सत्ता परिवर्तन हुने तर्फ देश जाँदैछ, त्यो संभवत संसारकै राजनैतिक इतिहासमा नौलो मात्रै होइन, अभूतपूर्व हो । संसारभर उदाहरण दिइने रूसको बोल्सेभिक क्रान्तिमा लेनिनको नेतृत्वको फौजले दुइ दिनमै सत्ता कब्जा गरेका थियाे नोभेम्बर ७, १९१७ मा । यद्यपी, त्यसको अगाडी कयौं महिनासम्म त्यहाँ मजदुर आन्दोलन, बन्द, हडताल भएको थियो ।
पछिल्लो समयमा भएको बंगलादेशमा पनि हसिना देश छाड्ने अवस्थाको अन्तिम धक्का दिने भन्दा अघिसम्म कयौं दिनसम्म ढाका विश्वविद्यालयका विद्यार्थीहरूले आन्दोलन चलाएका थिए । अन्तिम दिनको टेरर, धक्का वा विद्रोहले हसिनालाइ देश छाड्न बाध्य पार्यो । र परिवर्तन भयाे ।
दोश्रो विश्वयुद्धमा हिरोशिमा नागासाकीमा आणविक बम नखसालेकाे भए जापानले आत्मासमर्पण गर्थाे हाेला र ? त्यसपछि पनि जापानले आत्मासमर्पण गर्न एक हप्ता समय लागेको थियो ।
साेभियत फाैजले बर्लिनलाइ धेरा नहालेकाे भए हिटलरले बंकरभित्रै आत्माहत्या गर्थाे हाेला त ?
केटाकेटी भनेर खिसीगर्नुस (केटकेटी के भन्ने पृथ्वी नारायण शाहा राजा हुँदा २० बर्षका थिए), डिस्कर्ड, रेडइट र च्याटजीपिटी पुस्ता भनेर हाेच्याउनुस, तर तिनीहरूले हल्लाएकाे हाे, नेपाली भ्रष्ट सत्ताकाे जरा र तन्तु । यसाे हेर्दा नेपालमा यसअघि हामीले कहित्यै नदेखेकाे आन्दाेलन वा ठूलाे शहरी विद्राेह भएकाे हाे । त्यसले सिर्जना गरेकाे टेटरले नै अहिले परिवर्तन हुन लागेकाे हाे । अधिकांश नेपालीको दिमागमा एकदिन जनताले बदला लिन्छन् । जनता रिसाएका छन् । नेतालाइ सकाउँछन् भन्ने थियाे । मैले चौंरी खर्कमा भेडा चराउनेदेखि सिंहदरबारकाे कुर्सीमा विराजमानहरूकाे मुखबाट त्याे कुरा सुन्दथे । त्यो जनतालाइ पनि थाहा थियो, सिंहदरबारमा बस्नेलाइ पनि । जब कुनै कुरा सबैलाइ लाग्छ, त्याे कमन नलेज बन्दछ र त्याे भइछाड्छ । तर त्याे समय यसरी आयाे, हामीले त्यसकाे मेसाे समेत पाएनाैं । त्यसमा घुसपैठिया, बदलालिने भाव भएका, लुटपाटकर्ता, बाैलाहतालका मान्छे पनि मिसिए हाेलान् । कयाैं निर्दाेसहरू निशानामा परे । जुन दुर्भाग्यपूर्ण छ । तर त्याे स्तरकाे टेरर नभएकाे भए, त्यत्रो देशभर पार्टी संरचना भएका पार्टीको २ तिहाइको सरकार तासको महल जस्तै ढल्थ्याे हाेला ? त्यो पनि विना औपचारिक संगठन भएको लुज नेटवर्क तप्काको अगुवाइमा भएको आन्दोलनले ? यत्राे टेटर नभएकाे भए याे सत्ता हामीले फेसवुकमा वा अन्यत्र लेखेर, नेतालाइ सरापेर, गाली गरेर मात्रै ढल्थ्याे हाेला त याे विरासत ? त्यसपछिकाे अवस्थामा उनीहरूले जेनजीले भनेकै मान्छाैं भनेर अहिले जसरी भनिरहेका छन् त्याे हुन संभव थियाे हाेला त ?
सेनाकाे भूमीका, नेपाली सेनाले ज्ञानेन्द्रकाे शाही कालमा बफादारीता देखाएपनि पछिल्लाे समयमा सेनाले प्राेफेसनल नै काम गरेकाे जस्ताे लाग्याे । उसले माओवादीले सेनापति फेरेर असफल कु गर्न लाग्दा हाेस् वा अहिलेकाे अबस्थामा । धेरैलाइ लागेकाे छ, सेनाले सिंहदरबार लगायतका संरचना किन जाेगाएन ? त्याे सत्य हाे जाेगाउनुपर्थ्याे ? तर अर्काे सत्य के पनि हाे भने त्याे गर्न सेना तम्सिएकाे भए र गाेली ठाेक्न थालेकाे भए, अहिले हुन लागेकाे याे परिवर्तन यति चाँडै आँउथ्याे हाेला ? आन्दाेलन बढ्दै जाँदा कति रक्तपात र कति थप क्षति हुन्थ्याे हाेला ? वा बैदेशिक हस्तक्षेपकाे खतरा पनि त हुन्थ्याे हाेला ।
लाग्दैछ, २०४६ सालपछि कर्मचारी, प्रहरी, जासुसी संयन्त्र, न्यायालय, अक्तियार सबैमा दलका मान्छे घुसे । र ति संयन्त्रहरू पंगु भयाे । त्यहाँ चेन अफ कमान्ड, crisis management plan खासै काम गर्ने खालकाे नै रहेनछ वा नबनाइएकाे रहेछ । हामीले खिचेकाे फाेटाे राख्ने त दुइ तिन व्याकअप हुन्छ । यत्राे जनताकाे तथ्यांककाे व्याकअप हुने प्रणाली त हाेला नि ? हुनुपर्छ कि पर्दैन ? दलियकरणले गर्दा हाम्राे संस्थानहरू सबै निकम्मा बनेका रहेछन् । त्यसैले तिनीहरूले एकदमै नराम्राे अवस्थामा के गर्ने कसरी काम गर्ने भनेर साेचेका नै रहेनछन्, हाम्रा संस्था हाँक्नेहरूले । सिंहदरबारमा सयाैं गाडीकाे ताँति हुँदा त्यहि हुनपर्ने हाेइन दमकल लगायतका थुप्रै क्राइसिस म्यानेजमेन्टका टुल र प्रणाली ? एउटाले काम नगरे अर्काे हुनुपर्ने हाेइन ? केहि यूवाहरूले प्रयास गरे, राष्ट्रिय अभिलेखालय जाेगियाे । कस्ले गर्याे निभाउने र जाेगाउने प्रयास ? दुखकाे कुरा, कवाडी र फाेहाेर राम्राेसम्म राम्राेसँग ठेगान लगाउन जानेकाे छैन् हाम्राे सिंहदरबारले । दलियकरण नभएकाे संस्था बाँकि भएकाे भनेकाे सेना रहेछ । त्यसैले त्यत्राे टेरर पछिकाे अवस्थालाइ विस्तारै ट्रयाकमा ल्याउँदैछ । त्यसैले त्यसले अलि सुझबुझ पूर्ण काम गरेकाेले थप क्षति भएन र परिवर्तन पनि हुन लाग्याे ।
याे अप्रिय लाग्ने कुरा पनि नभुलाैं, हामीले घुस खाने भएर नै, हामीले भ्रष्ट्राचारकाे अखडा बनाएकाेले नै, हामीले जनताकाे करबाट तलब खाने र उनीहरूलाइ नै भनेजस्ताे सेवा नदिएकैले निशानामा परेकाे हाे हाम्रा कार्यालयहरू । हामीले समाजमा हुने र नहुने विचमा ठूलाे खाडल बनाएर नै र नहुनेहरूप्रति अलिकति पनि दयाभाव राख्न नजानेकाेले नै याे वितन्डामा ध्यू थपेकाे हाे । गल्ती हामीले गर्याैं निशानामा परे ती भाैतिक संरचनाहरू । सिसिटिभी र अन्य फुटेज हेरेर आगजनी लुटपाटमा संलग्नहरूलाइ कारबाही गर्नुपर्छ । तर सदाकाे लागि याे वितन्डा राेक्ने उपाय भनेकाे, घुस खान राेक्ने, भ्रष्टाचार राेक्ने, जनमैत्री हुने र समाजमा राज्यले अवसरकाे वितरणमा कुनै भेदभाव नगर्ने खालकाे प्रणालीकाे विकास गर्ने नै हाे । सायद जेन जी पुस्ताले देख्न राेजेकाे समाज र राज्य त्यस्तै खालकाे हाेला ।
संसारकाे कुन पनि परिवर्तन शान्ति मत्राेउच्चारण र पुराना प्रणाली बनाउँदाकाे नियम समातेर आँउदैन् । मान्छे जन्मँदै शान्त र अशान्त दुवै हुन्छ । दुध खान पाएन भने बच्चा अशान्त हुन्छ, पाएपछि आरामसँग सुत्छ । शान्ति र अशान्तिकाे त्याे paradox हाम्राे जन्मजात गुण हाे ।
जेन जी पुस्ताले नेपालकाे राजनितिमा रगतले लेखेर काेरेकाे याे बाटाेमा हामी हिड्न सबैले आत्मासुद्धि त गर्नैंपर्छ । तपाइले, मैले, सबैले । नत्र अल्फा पुस्ताकाे रगतमा यसरी नै हिड्न हामी आजैदेखि तयार रहनुपर्छ ।
Source: Uttam Babu Shrestha