09/01/2026
सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलहारको रुपमा खाइने तरुल खन्ने चटारो छ । किसानबाट केही समयअघि नै हरियो बोट हुँदै खरिद गरेको तरुल व्यापारीले मजदुर लगाएर धमाधम खन्ने काम गरिरहेका हुन् । सर्लाहीमा बागमती र बरहथवा नगरपालिकाको बागमती नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ ।
धमाधम मजदुर लगाएर तरुल खनिरहेका व्यापारीलाई काठमाडौँ पुर्याएर तरुल बेच्न उत्तिकै भ्याइनभ्याइ छ । माघे सङ्क्रान्ती आउन अब एक साता मात्रै बाँकी छ । बागमती नगरपालिका–४, जिरायतका किसान बिशाल वाइबाले आफूले यो वर्ष पाँच कठ्ठामा रोपेको तरुल व्यापारीलाई ७० हजार रुपियाँमा बिक्री गरेको जानकारी दिनुभयो । जमिनभित्र रहेको तरुल के कति फलेको छ भन्ने थाहा नहुने भएकाले व्यापारीले बोट हेरेर मुल्य लगाउने गरेको वाइबाको भनाइ छ ।
बाक्लो र मोटो बोट भएको ठाउँमा व्यापारीले पाँच कठ्ठाको तरुललाई एक लाख २० हजारसम्म मुल्य दिएका किसानले बताएका छन् । बागमती बगरको नदी तटीय क्षेत्रमा आफू पनि तरुल खेती गर्ने र अन्य किसानबाट समेत तरुल किन्नुहुने जिरायतकै नरेश महतोले यो वर्ष तरुलले राम्रो मूल्य नपाएको गुनासो गर्नुभयो ।
सर्लाहीदेखि काठमाडौँको कालिमाटी तरकारी बजारसम्म पुर्याउदा तरुल प्रतिकेजी ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । खुद्रामा उपभोक्ताले खरिद गर्दा दोब्बर बढी मूल्य तिर्नु परे पनि यहाँदेखि आफूहरुले लगेर थोक व्यापारीलाई तरुल बेच्दा मूल्य नै नपाएको महतोको गुनासो छ ।