06/06/2026
जापानको अन्योलमा परेका नेपाली ?
जापानमा पछिल्लो समय विद्यार्थी भिसा, वर्क भिसा, बिजनेस भिसा लगायत विभिन्न माध्यमबाट हजारौं नेपालीहरू आइरहेका छन्। अमेरिका र युरोप जाने सपना पूरा नभएका, खाडी देश नजाने निर्णय गरेका, वा अवसर खोज्दै जापान पुगेका नेपालीहरूको संख्या सानो छैन।
सायद भिसा पाउने प्रक्रिया अपेक्षाकृत सहज हुनु, उमेर वा शैक्षिक योग्यताको कडा सीमाभन्दा अवसरको खोजी ठूलो हुनु जस्ता कारणले पनि हरेक वर्ष हजारौं नेपाली जापान भित्रिरहेका छन्। तर सबैको लक्ष्य स्पष्ट भने हुँदैन।
धेरैजसोको योजना सुरुमा एउटै हुन्छ — "२/३ वर्ष हेरौं, अनि निर्णय गरौंला।" तर ती २/३ वर्ष कहिले ५ वर्ष बन्छन्, १० वर्ष बन्छन्, कतिपयको त १५ वर्ष पनि बितिसकेको हुन्छ।
सुरुको एक–दुई वर्षमै जापान छोड्ने निर्णय गर्नेहरू सायद त्यो चक्रबाट बाहिर निस्किन्छन्। तर एकपटक यहाँको जीवनशैलीमा अभ्यस्त भइसकेपछि, ऋण, जिम्मेवारी, आम्दानी र दैनिक बानीसँग जोडिएपछि जापान छोड्ने निर्णय धेरैका लागि निकै कठिन बन्न थाल्छ।
कसैलाई बैंकको ऋणले थिचेको हुन्छ, कसैलाई परिवारको जिम्मेवारीले। कोही यहाँको सुरक्षित जीवनशैलीमा अभ्यस्त भइसकेका हुन्छन्। नेपाल फर्किने कुरा गर्दा मन त लाग्छ, तर स्थायी रूपमा फर्किने स्पष्ट योजना भने धेरैसँग हुँदैन।
अचम्मको कुरा के छ भने, धेरै नेपालीले जापान आउँदा कल्पना गरेको बचत र आर्थिक स्वतन्त्रता पनि हासिल गर्न सकेका हुँदैनन्। तर त्यसो भए पनि "अझ एक वर्ष", "अझ ६ महिना", "अझ केही पैसा जम्मा गरौं" भन्दै समय बित्दै जान्छ।
१५ वर्षदेखि जापानमा बस्दै आएका सन्देश तामाङ भन्छन्, "म त जापानको ट्र्यापमै परेँ जस्तो लाग्छ। सधैंका लागि नेपाल फर्किन्छु भन्ने सोच धेरै पटक बनाएँ। तर एक महिनाको बिदामा नेपाल बस्दा पनि फेरि जापानकै बानी सम्झिन्छु।"
सायद सन्देश तामाङको अनुभव धेरै नेपालीको साझा अनुभव हुन सक्छ।
यो केवल जापानको कथा होइन। अमेरिका, युरोप, अष्ट्रेलिया लगायत विकसित देशहरूमा पुगेका धेरै आप्रवासी नेपालीहरूको अवस्था पनि मिल्दोजुल्दो हुन सक्छ। तर आजको प्रसंग जापानको हो।
एकातिर नेपाल फर्किने चाहना, अर्कोतिर विदेशको बानी परेको जीवन। एकातिर आफ्नो देश, अर्कोतिर छोराछोरीको भविष्य। यही दोधारमा धेरै नेपालीहरूको जवानी बितिरहेको छ।
नेपाल सरकारले वर्षेनी वैदेशिक रोजगारी र आप्रवासनसम्बन्धी नीति ल्याइरहेको छ। तर जबसम्म नेपालमै पर्याप्त रोजगारी सिर्जना हुँदैन, स्थायित्वको वातावरण बन्दैन र विदेशप्रतिको सामाजिक आकर्षण कम हुँदैन, तबसम्म यस्ता "जापान ट्र्याप" का कथाहरू दोहोरिरहने सम्भावना देखिन्छ।
अन्ततः प्रश्न एउटै छ — हामी जापानलाई अवसरका रूपमा प्रयोग गरिरहेका छौं, कि जापान नै हाम्रो अन्तिम गन्तव्य बन्दै गएको छ ?
– नेपारु टिभी सम्पादकीय