02/11/2025
छ्याइमे बत्ती प्रज्वलन र त्यसबाट हुने लाभ
छ्योइमे बाल्नुभन्दा अगाडि के सोच्ने ?
सर्वप्रथम हामीले कुनै पनि पूजा पाठ गर्नुभन्दा पूर्व कुन्लोङ अर्थात् आशयलाई पक्का गरी शरणगमन र चित्तोत्पाद गर्नुपर्दछ । शरणगमन र चित्तोत्पादका हरफहरु सबैलाई कण्ठ नहुने भएकोले ती हरफहरु संक्षेपमा यसरी पाठ गर्नुपर्दछ, “बुद्ध धर्म तथा उत्तम संघगणमा । म आफूले बुद्धत्व प्राप्त नभइञ्जेलसम्म शरणमा गइरहने छु । म आफूले दानादी गरेको पुण्य सम्भारले । सबै लोकका आमारुपी सत्वप्राणीहरुका हितका निम्ति म आफूले जसरी पनि बुद्धत्व प्राप्त गर्न सकुँ ।” यसरी शरणगमन र चित्तोत्पाद गरिसकेपछि पूजा पाठमा लाग्नुपर्दछ ।
तीनपल्ट ढोग गरिसकेपछि छ्योइमे (दियो) प्रज्वलन गर्नु अघि के सोच्नु पर्छ भने, “यो मेरो जीवन आफ्नै सुख शान्तिको निम्ति मात्र नभई आकाश समान व्याप्त प्राणीहरुको दुःख हटाई सदैव सुख शान्तिको निम्ति म जे जस्तो परिस्थितिमा पनि परहित कै निम्ति लागि पर्नेछु” भनी प्रण गर्नुपर्दछ । अझ भनौ खास रुपमा सबै सत्वप्राणीहरुलाई बुद्धत्वसम्म पु¥याउने ठुलो संकल्प राख्नुपर्दछ । त्यसको निम्ति सर्वप्रथम हामी जो कोहिले पनि दुई प्रकारका पुण्य सम्भार (सञ्चय) गर्नु गरुरी हुन्छ भनी सोच्नु पर्दछ । पुण्य सम्भार र ज्ञान सम्भार अर्थात् उपाय र प्रज्ञालाई परिपूर्ण गर्ने प्रयास गरिरहनुपर्दछ । ढोग गरेर, प्रदक्षिणा (कोरा) गरेर, दान दिएर, प्रणिधान गरेर, पुण्य सम्भार गर्न सकिन्छ । त्यसैको अभ्यास स्वरुप आज म दिप अर्थात् छ्योइमे प्रज्वलन गर्दैछु भनी सोच्नु अत्यावश्यक हुन्छ ।
दियो बत्ती बाल्दा स्मरण गर्नुपर्ने कुराहरु
यो दिप (छ्योमे) त्रिसहस्रलोक समान र त्यहाँको वातावरण जस्तै विशाल र व्यापक होउन् । यस दियोको सलेदो पर्वतराज सुमेरु पर्वत जस्तै अटल र स्थिर होउन् । यो दियोको तेल वा घिऊ प्रशान्त महासागर जस्तै गम्भीर र शान्त होउन् । प्रत्येक बुद्धको उपस्थिति सँगै यो दियो बत्ती अरबौं खरबौं धर्म दिपमा वृद्धि भएर जाउन् । यस दियोको प्रकाशले सम्पूर्ण सत्वप्राणीहरुको अज्ञानता रुपी अन्धकार हटेर जाउन् । माथी भवाग्र समापत्तिमा अधिक सुखभोग गरिरहनु हुने सुखानन्दमय ब्रम्हलोकदेखि तल अत्यन्त कठोर शारीरिक तथा मानसिक यातना सहेर बस्नुपर्ने नर्कलोकसम्मको सबै प्राणीहरुको दुःख हटी शिघ्र नै दशै दिशाहरुमा स्थित रहनु भएका सबै बुद्ध तथा बोधिसत्वहरुको प्रत्यक्ष दर्शन गर्न पाउन्, भन्दै दियो प्रज्वलन गर्ने ।
त्यसपछि ॐ बज्र अलोके आ हूँः मन्त्रोच्चारण गर्ने र यसरी भावना गर्नुपर्दछ, “मैले चढाएको यस शुद्ध र उज्यालो दियो बत्तीहरु भद्र कल्पका हजारौं बुद्धहरु सामु चढाउँदैछु । त्यसै गरी दशै दिशामा निहित सबै बुद्ध तथा बोधिसत्वहरुलाई चढाउँदछु । आफ्नो गुरुवर, इष्टदेव लगायत सबै डाक, डाकिनीहरु, धर्मपालहरु अनि अनेक मण्डलाका सबै देव गणहरुमा समेत म यो छ्योइमे छढाउँदछु । मैले यो दियो बत्ती बालेको पुण्यले आफ्नो यो जन्मको आमा बाबु लगायत सम्पूर्ण सत्वप्राणीहरुले प्रत्यक्ष रुपमा सम्यक सम्बुद्धको परिशुद्ध भूमिको दर्शन पाउन सकुन् ।” भन्दै यसरी मन्त्रोच्चारण गर्नुपर्दछ । तद्याथा ॐ पञ्च द्रिय अव बोधनी स्वाहा ।
यसपछि सबै बत्तीहरु पञ्चरंगको एकै रश्मी पुञ्जमा परिणत भयो भनी कल्पना गर्नुपर्दछ । पद्म र चन्द्रमाको आसन माथि ॐ र द्यीः दुई अक्षर उत्पन्न भएको भावना गर्नुपर्दछ र त्यस दुई अक्षरबाट १०८ जना ज्यादै सुन्दरु आभूषण अनि सौम्य वस्त्रमा सजिएका दिप चढाउने अत्यन्त मनमोहक पूजा देवीहरु (मार्मेमा) उत्पत्ति भई प्रत्येक देवीहरुको हातमा दियो बत्ती बोकी दशौं दिशाका बुद्धहरुलाई चढाइरहेको कल्पना गर्ने । यसपछि सबै देवीहरुबाट पुनः एकबाट अर्को देवी हुँदै अरबौं खरबौं दिप चढाउने देवीहरु उत्पन्न भएर उनीहरु सबै बुद्ध भूमिमा खुल्ला आकाश समान व्याप्त भएर शान्त र क्रोधि स्वरुपी कल्याणकारी देव देवीहरुलाई छ्योइमे बत्ती चढाइरहेको भावना गर्नुपर्दछ ।
बत्ती अर्थात् छ्योइमे कति प्रकारका हुन्छन्
सामान्यतया दियो बत्ती होस् या कुनै पनि पूजनका सामानहरु प्रत्यक्ष र मनोकल्पीत गरी दुई प्रकारका हुन्छन् । प्रत्यक्ष भन्नाले घिउ, सलेदो आदि आफ्नै हातले तयार पारेर बनाएको र कल्पीत भन्नाले साच्चीकै पूजनका सामाग्री नभएपनि मनले कल्पेर सुन चाँदिको प्यालामा घिउ तेल भरेर चढाइरहेको सम्झनुलाई बुझ्नुपर्दछ ।
आजभोलि विकसित देश जापान, सिड्डापुर र ताईवान जस्ता देशहरुमा कमलको फूल आकारमा बनाइएका बिजुली बत्तीहवरुको प्रचलन ज्यादै बढेर गएको देखिन्छ । वातावरणीय दृष्टिले बिजुली बत्ती ज्यादै सरल, सुरक्षित, आकर्षक अनि धुवाँ रहति हुन्छन् । खाने तेल प्रयोग गरेर बनाइएका दियो बत्तीहरु बढी धुँवा लाग्ने, कोठा कालो हुने र खाता वा अन्य कपडामा सल्कीने खतरा रहन्छ । तर वनस्पती डाल्डा घिउ कै बत्तीहरु बढी प्रचलनमा आएको देखिन्छ ।
बत्ती जेसुकैबाट बनेको भए पनि बत्तत्ती बाली सकेपछि ॐ बज्र अलोके आः हूँ भनी मन्त्रोच्चारण गर्ने । यदि यो मन्त्र उच्चारण गर्न गाह्रो जस्तो लागेमा सबैभन्दा सरल र प्रभावशाली ॐ आः हूँ भन्दै बत्ती सल्काउने । दियो प्रज्वलन गर्दा मुख छोप्ने र अनावश्यक गफ गर्नु हुँदैन किनकी यसरी गफ गर्दा थुक उछिट्टिएर पूजा सामाग्रीहरु शुद्ध रहन पाउँदैनन् ।
ॐ आः हूँ मन्त्र उच्चारण गर्नाले बुद्धको काय, बुद्धको वाक् र बुद्धको चित्तको अधिष्ठान (झिन्लव्) प्रत्यक्ष रुपमा त्यस दियो बत्तीमा पर्दछ । त्यत्ति मात्र नभई यस मन्त्र उच्चारण गर्नाले हाम्रा काय, वाक र चित्तका दोषहरु पूर्ण रुपले क्षय भएर जानुका साथै पूजनका सामाग्रीहरु समेत विशुद्ध हुनेछन् ।
दियो बत्ती प्रज्वलन गरी सकेपछि तुरुन्त कलश (बुम्पा) को पानी छर्कदै ॐ रं यं खं ॐ आः हूँ भनी एक पल्ट वा तीन पल्टसम्म मन्त्रोच्चारण गर्दै कलशको जल बालेको दियो बत्तीतिर पारेर छर्किनु पर्दछ । यसरी मन्त्रोच्चारण गर्नाले अग्नी, वायु र जलमा रहेका सबै अशुद्ध तत्व वा विकारहरु शुद्ध भएर जानेछन् । त्यसपछि सो बत्ती कसलाई र कसको निम्ति बालेको हो उसैको नाम सम्झनुका साथै अरु पनि यस दुःख रुपी भवसागमा आ–आफ्नै दुःखबाट तड्पी रहेका अरबौं खरबौं प्राणीहरु समेत मैले यो छ्योइमे बालेको पुण्यले शिघ्र बुद्धत्व प्राप्त गर्न सकुन् भनी बुद्ध मूर्ति भए बुद्ध मूर्ति अगाडि, नभएर बुद्ध तथा बोधिसत्वहरु आफ्नो अगाडिको खुल्ला आकाशमा प्रत्यक्ष विराजमान हुनु भएको सम्झी तन, मन र वचनद्वारा गहिरो श्रद्धाभक्ति उत्पन्न गर्दै सबै सत्वप्राणीहरु आ–आफ्नै दुःखबाट तत्काल मुक्त होउन् र जसरी सूर्यले यस धर्तीको अन्धकारलाई नाश पारी न्यानो प्रकाश स्वरुप यस पृथ्वीमा सबै प्राणीहरुको जीवन यापनमा सहज तुल्याई दिन्छ, त्यसरी नै यस बत्ती बालेको पुण्यले वा प्रकाशले म लगायत सबै सत्व प्राणीहरुको अन्धकार रुपी मनको दोष अर्थात् अविद्यालाई नाश गरी सदा सर्वदा प्रज्ञाको उदय भई मोक्ष वा सम्यक संबुद्धको दर्शन पाउन सकौं भन्दै परिणामना (ङोवा) पनि गरिहाल्नु पर्दछ ।
यसो गर्न सके भने मात्र बत्ती बालेको पुण्य क्षय भएर जान पाउँदैन । स्मरण रहोस् महायान बौद्ध धर्म परम्परालाई परापूर्वकालदेखि अंगाल्दै आइ रहेका हामी सम्पूर्ण तामाङ, शेर्पा, गुरुङ, मुगुम, मनाड्ड लगायत अन्य बौद्ध धर्ममा आस्था राख्ने हरेक जनजातिहरुले जुन सुकै पूजनका सामाग्री चढाउँदा वा प्रणिधान गर्दा आफू र आफ्नो परिवारको सुख शान्तिको निम्ति मात्र नभई सबै सत्वप्राणीहरुको सुखानन्द र मोक्ष अर्थ गरिने परम्परा रहेको छ । आफूलाई भन्दा अरुलाई बढी महत्व दिने र परकल्याणका निम्ति विशाल सोच राख्ने भएकै कारण यस धर्म वा परम्परालाई महायान परम्परा भनिएको हो ।
परिणामना (ङोवा) गर्ने विधि
यस दियो प्रज्वलन गरेको पुण्यले सुगति र दुर्गतिका सम्पूर्ण प्राणीहरु दुःखबाट मुक्त होउन् । सबै सत्व प्राणीहरुको दोष शुद्ध भई अन्धविश्वास हटेर जाउन् । सत्व प्राणीहरुद्वारा संचित यी सबै अकुशल कर्म, नकरात्मक दोषहरु सबै शुद्ध भएर जाउन् । मनका सबै विकारहरु शिघ्र हटेर जाउन् । तसर्थ, हे त्रिरत्न ¤ मलाई संयम्, शक्ति र मोक्ष प्रदान गर्नुहोस् ।
छ्योइमे बत्ती बालेको फाइदा (अनुशंसा) बारे महायान बौद्ध शास्त्रहरुमा यस प्रकारले उल्लेख गरेको पाइन्छः
१) बत्ती बाल्ने व्यक्ति यस संसारमा दियो जस्तै चम्किलो भई तिक्ष्ण दिमाग प्राप्त गर्नेछ ।
२) छ्योइमे चढाउने व्यक्तिले शुद्ध र सफा मांस चक्षु (आँखा) प्राप्त गर्नेछ ।
३) उनले ज्यादै आकर्षक देव नयन नै प्राप्त गर्न सक्नेछ ।
४) उसले यस्तो ज्ञान प्राप्त गर्नेछ, जसले पाप र धर्मलाई सहि रुपले छुट्याउन सकियोस् ।
५) उसले अविद्याको अन्धकारमा जगडि रहँदा मिथ्यादृष्टिअर्थात् सबै वस्तु नित्य हुन् भन्ने गलत बुझाईलाई सदाको लागि हटाउन सक्षम हुनेछ ।
६) उनले यस्तो ज्ञान प्राप्त गर्नेछ, जसले यसै जुनीमा समेत कहिले पनि अन्धकार वा अज्ञानताको पिडा खेप्नु पर्दैन ।
७) ज–जसले शुद्ध मनले छ्योइमे चढाउँदछन् उसले सुख, वैभव र ऐश्वर्य प्राप्त गर्नका साथै अपार सम्पत्तिको उपभोग गर्न पाउनेछ ।
८) जसले दिप प्रज्वलन गर्दछ उसले पनि दुर्गतिमा पतन हुनुपर्दैन, देव तथा मनुष्यलोकमा वर्णवान र मतिवान भएर जन्मने सु–अवसर प्राप्त गर्नेछ ।
९) उसले शिघ्र नै दुःखमय दुर्गतिका ती चित्कार र क्रन्दनयुक्त द्वारहरु बन्द गरी मोक्ष प्राप्त गर्दछ ।
१०) यसरी अन्तत्वगत्व उसले बुद्धत्व प्राप्त गर्न सकिने जस्ता अत्यन्त महत्वपूर्ण अनुशंसा (लाभ) हरुछ्योइमे बत्तीको प्रज्वलनबाट प्राप्त गर्न सकिन्छ ।
“मनमा घमण्ड पालेर सुनको दियोमा बत्ती बाल्नुभन्दा शुद्ध र सफा मनले माटोको प्यालामा बालेको छ्योइमे बत्तीबाट अपार पुण्य लाभ गर्न सकिन्छ ।”
यस लेखमा बत्तीको प्रकार बाहेक अरु सबै भोट भाषामा ११ औं शताब्दीका प्रकाण्ड बौद्ध विद्वान दीपंकर श्रीज्ञान (अतीशा) ले लेख्नुभएको दियो बत्तीको अनुशंसाबाट अनुवादन गरिएको हो ।
।। भवतु सर्वमड्डलम् ।।
अनुवादक : टीका शेर्पा