08/07/2020
#शिक्षा मन्त्रालयद्वारा प्रस्ताव तयार, सीसीएमसीबाट निर्णय गराईने
काठमाडौं - शिक्षा क्षेत्रमा देखिएका समस्याको गाँठो कोभिड - १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मार्फत् फुकाउने गरी शिक्षा मन्त्रालयले प्रस्ताव तयार पारेको छ । कोरोना भाईरस (कोभिड - १९) का कारण आईपरेका विभिन्न व्यवहारिक समस्या समाधान गर्ने विषयमा मन्त्रालय अनिर्णित हुँदा अन्योल बढेको भन्दै आलोचना जारी रहेका बेला मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो ।
विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा संघीय सरकारले स्थानीय सरकारहरुलाई ठाउँ हेरी कार्य गर्न बाटो फुकाईदिनुको साटो शिक्षा मन्त्रालयले समेत निर्णय नगरेर सीसीएमसी मार्फत् निर्णय गराउन लागिएको छ । गत बर्ष चैत महिनाको शुल्क नलिने बारेमा केन्द्रले निर्णय गरेको र अहिलेको समस्या कोभिडकै कारण आईपरेकोले समाधानको निर्णय पनि मन्त्रालयले मात्रै गरेर नहुने तर्क सहित उक्त प्रस्ताव तयार पारिएको मन्त्रालयको उच्च श्रोत बताउँछ ।