07/09/2026
सेप्टेम्बर २५ मा आयोजना गरिएको स्वर ब्याण्डको कोरिया कन्सर्ट सर्यो, आगामी सलनालको अवसर पारेर फेब्रुअरी ७ मा आयोजना गरिने
धराने इभेन्ट्स कोरियाको आयोजनामा यस वर्षको छुसक पर्वको अवसरमा आयोजना हुने भनिएको चर्चित नेपाली ब्याण्ड ‘SWAR’ को विशेष सांगीतिक कार्यक्रम स्थगित भएको छ। आयोजकले आधिकारिक सूचना जारी गर्दै विभिन्न परिस्थितिजन्य कारण तथा प्राविधिक समस्याका कारण पूर्वनिर्धारित योजनाअनुसार कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ।
आयोजकका अनुसार तयारीका क्रममा देखिएका केही प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण छुसकमा तय गरिएको कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको हो। यसबाट नेपाली समुदाय तथा SWAR ब्याण्डका प्रशंसकहरूमा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना समेत गरेको छ।
जारी सूचनामा दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, विशेषगरी SWAR लाई प्रत्यक्ष सुन्न र हेर्न उत्सुक दर्शकहरूप्रति आयोजकले दुःख व्यक्त गर्दै सहयोग र समझदारीका लागि आभार प्रकट गरेको छ।
स्थगित गरिएको उक्त कन्सर्ट अब सन् २०२७ फेब्रुअरी ७ तारिख, कोरियालीहरूको अर्को प्रमुख पर्व सलनाल (Lunar New Year) को अवसरमा आयोजना गरिने भएको छ। आयोजकले नयाँ मितिमा कार्यक्रमलाई अझ व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिने जनाएको छ।
छुसकमा SWAR को प्रत्यक्ष प्रस्तुति हेर्न प्रतीक्षा गरिरहेका नेपाली दर्शकका लागि कार्यक्रम सरेको जानकारी दिँदै आयोजकले आगामी फेब्रुअरी ७ मा आयोजना हुने कार्यक्रममा समेत निरन्तर साथ र समर्थनको अपेक्षा गरेको छ।
धराने इभेन्ट्स कोरियाले कार्यक्रमको नयाँ मिति, स्थान तथा टिकटसम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने जनाएको छ।