31/07/2025
देउडा गितको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान लगाइन्छ । कतिपय ठाउँमा पहिलेका दिनहरूमा देउडा गित गाउन लाज मान्ने चलन पनि थियो । त्यो अवस्थामा देउडा गितबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) वीच सवाल जवाफ चल्ने गर्दथ्यो । यती मात्र होइन देउडा गितबाट नै कति पयका घरबार बसेका कुरा पनि सुन्नमा आउँछन् । देउडा गित एक प्रकारको भाषा हो यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्राय यसका गितहरू खस भाषामा आधारीत हुन्छन् । खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ । पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तै बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदी ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । देउडा गित पनि यिनै राज्यमा प्रचलित भएको थियो र अहिले पनि तत्कालिन राज्य अन्तर्गत पर्ने स्थानहरूमा यो देउडा गित लोकप्रिय बन्दै गएको छ । पश्चिम नेपाल राज्यको नजरमा टाढा रहे पनि संस्कृतिमा सधैं सम्पन्न रहेको छ । नेपाली भाषाको उद्गम भूमीको रुपमा रहेको पश्चिम नेपालको आफ्नै इतिहास छ । पश्चिम नेपालमा गाइने न्याउल्या गीतको त झनै गौरवमय इतिहास छ । देउडा गीतको ऐतिहासिक नाम न्याउल्या गीत हो । कुमाउ तिर अँझै पनि ठाडी भाकालाई न्याउली भनिन्छ । पश्चिम नेपालका पहाडी जिल्लाहरूमा गाइने सबै गीतहरूलाई मिडियाले देउडा भन्ने गरेको पाइन्छ । यति मात्र नभएर कतिपएले खस, अछामी, डोटेली, बैतडा आदि पश्चिम नेपालमा बोलिने भाषा सहितलाई पनि देउडा भाषा भन्ने गर्छन् । नेपाली भाषाको उद्गम स्थल पश्चिम नेपाल हो भन्ने कुरा इतिहासले नै सावित गरिसकेको छ । अहिले कर्णाली र सुदूरपश्चिम भनेर छुट्टाइए पनि पहिले यो भूमी खस साम्राज्यका नामले प्रख्यात थियो । कत्युरी शासन कालमा पनि यो भाषाको प्रयोग भएको पाइन्छ । तर कत्युरीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन् । त्यस पछि खस साम्राज्यको उदय भयो । उनीहरूले जुम्लाको सिञ्जालाई राजधानी बनाएर शासन गरेका थिए । भारतको कुमाउँ, गढवाल लगायत तिब्बतको खार क्षेत्र र नेपालको त्रिशूलीसम्म खस साम्राज्य फैलिएको थियो । राजाले राजकिय भाषाको मान्यता दिएपछि यस भाषालाई खस भाषा भनेर पनि चिनिन थालियो । त्यहाँबाट सर्दै पूर्वी नेपालसम्म पुगेपछि यस भाषाले नेपाली भाषाको मान्यता पाएको थियो । नेपाली भाषाको मान्यता पाए पछि लेख्न र पढ्न सजिलो होस् भनेर केही विकसित गरियो । प्राचिन खस भाषा पश्चिम नेपालमा अझै पनि रहेको छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा “ मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, चार जात ३६ वर्णको साझा फूलवारी हो सबैलाई चेतना भया“ भनेका छन् । उनकै भाषाको आया, गया, खाया, भया जस्ता शब्दको प्रयोग भएको छ । त्यो भाषा पश्चिम नेपालमा अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ । पश्चिम नेपालमा अँझै पनि काँ जाँदा भयौ, काँ बाटी आयौ, क्या अद्दा छौ जस्ता शब्दको प्रयोग हुन्छ । भानुभक्त आचार्यले लेखेको रामायणको पहिलो श्लोक “एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी, ब्रह्मा ताहीं थिया पर्या चरणमा खुसी गराया पनि ।“ त्यही भाषाको प्रयोग भएको छ । परिस्कृत भएर अहिले नेपाली भाषा भएको यस भाषाको मुहान प्राचिन नेपालको जुम्ला राज्य र डोटी राज्य हो । त्यो भाषासँगै न्याउल्या संस्कृतिले पनि मौलाउने अवसर पाएको हो । न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्यायन गर्दा न्याउल्या गीत न्याउली चरीको स्वर जस्तै सुमधुर रहेकाले सोही अनुसार नामकरण गरिएको पाइन्छ । अहिले यसलाई देउडा गीत, देउडा संस्कृती, देउडा भाषा, देउडा खेल आदि नामले चिनिन्छ ।