28/12/2025
एउटा त्यस्तो व्यक्ति जसले विश्वलाई जोगाए !
वासिली अर्किपोभ (Vasily Arkhipov) (१९२६–१९९८) सोभियत नौसेनाका एक अधिकारी थिए। सन् १९६२ को क्युबन मिसाइल सङ्कटको समयमा, अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको बी–५९ नामक पनडुब्बीबाट अमेरिकी पक्षले डेप्थ चार्ज (पानीमुनि विस्फोट हुने बम) खसालेपछि, त्यसको प्रत्युत्तरस्वरूप परमाणु टार्पेडो प्रहार गर्ने प्रस्ताव आएको थियो। तर त्यस अवस्थामा परमाणु टार्पेडो नछोड्ने पक्षमा निर्णायक रूपमा मतदान गर्ने एकमात्र व्यक्ति अर्किपोभ नै थिए।
सोभियत पनडुब्बीका चालकदलका सदस्यहरू केही दिनदेखि मस्कोसँग सम्पर्कविहीन थिए र उनीहरूलाई तेस्रो विश्वयुद्ध सुरु भइसकेको हो कि होइन भन्ने निश्चित जानकारी थिएन। पनडुब्बीका कप्तानलाई सतहमा युद्ध सुरु भइसकेको ठम्याइ थियो र उनले परमाणु टार्पेडो प्रहार गर्न चाहन्थे। यसबाहेक, पनडुब्बीका ब्याट्रीहरू कमजोर हुँदै गएका कारण एयर कन्डिसन प्रणाली बन्द भएको थियो र भित्रको तापक्रम ११८°F (४५°C) भन्दा माथि पुगेको थियो। कार्बन डाइअक्साइडको मात्रा बढ्नु र अक्सिजनको कमीका कारण धेरै चालकदलका सदस्य बेहोस हुन थालेका थिए, जसले उनीहरूको निर्णय क्षमतालाई गम्भीर रूपमा प्रभावित गरेको थियो।
त्यतिबेलाको नियमअनुसार, परमाणु हतियार प्रहार गर्न पनडुब्बीका कप्तान र त्यहाँका राजनीतिक अधिकारी—यी दुई जनाको मात्र स्वीकृति आवश्यक थियो। तर संयोगवश, अर्किपोभ एक फ्लोटिला कमाण्डर थिए र उनले विशेष रूपमा सोही बी–५९ पनडुब्बीमा रहने निर्णय गरेका थिए। सामान्यतया फ्लोटिला कमाण्डरहरू परमाणु पनडुब्बीमा सवार हुँदैनथे, तर उनको उच्च पदका कारण दुई जनाको निर्णयलाई तीन जनाको निर्णयमा रूपान्तरण गर्न सकिन्थ्यो।
अर्किपोभले ती दुई वरिष्ठ अधिकारीसँग कडा बहस गरे र अन्ततः पनडुब्बीलाई सतहमा ल्याएर मस्कोसँग सम्पर्क गर्ने निर्णयमा उनीहरूलाई सहमत गराउन सफल भए। उनको अडान, साहस र विवेकपूर्ण निर्णयका कारण सम्भावित परमाणु युद्ध टर्यो र विश्व विनाशबाट जोगियो।
साथीहरू के तपाईँलाई यो कुरा थाहा थियो? आफ्नो विचार व्यक्त गर्नुहोस्।
हस् त!
धन्यवाद ♥️
नमस्कार 🙏
जय नेपाल 🇳🇵