15/03/2025
ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ।
ढोरपाटन शिकार आरक्षको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन।
ढोरपाटन शिकार आरक्ष क्षेत्रमा आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहन्छ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने गर्छ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहन्छ तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने गर्छ। माघ तथा फाल्गुण महिना तिर यस क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने गर्छ, त्यसकारण यहाँका स्थानीय बासिन्दाहरु छ महिना बुँकी र छ महिना औलतिर बसाई सर्ने गर्दछन् ।
बुर्तिबाङ्ग बजारबाट पैदल १ दिन हिडेपछि ढोरपाटन पुग्न सकिन्छ। हाल ढोरपाटन उपत्यकासम्म यातायात पुगेको छ। बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ। सामान्यतया वुर्तिवाङबाट ३ घण्टामा ढोरपाटन उपत्यका पुगिन्छ। हाल जिप तथा साना प्रकारका बसहरू सो रूटमा चल्ने गर्दछन् ।
सिकारको लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ।