17/09/2026
कांग्रेस म्याग्दीले तय गर्यो वडा, पालिका, प्रदेश र जिल्ला अधिवेशनको मिति
१ असोज, म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तथा आठौँ जिल्ला अधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेश र जिल्ला तहका अधिवेशनको कार्यतालिका तय गरेको छ । बिहीबार बेनीस्थित पार्टी कार्यालयमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को अध्यक्षतामा बसेको बैठकले असोज ४ गते जिल्लाका ४५ वटै वडामा वडा अधिवेशन, असोज ७ गते सम्बन्धित पालिका केन्द्रमा पालिका अधिवेशन तथा असोज १० गते सदरमुकाम बेनीमा प्रदेश र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भूमिश्वर गौतम, जिल्ला कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश ‘क’ र ‘ख’ का सभापति तथा पालिका सभापतिलगायतको सहभागिता थियो ।
अधिवेशनलाई व्यवस्थितरूपमा सम्पन्न गर्न वडा तथा पालिका तहमा मतदान अधिकृत खटाउने तथा आवश्यक निर्वाचन सामग्री र कागजात व्यवस्थापनको काम अघि बढाइएको केन्द्रीय सदस्य बानियाँले जानकारी दिनुभयो । सम्बन्धित मतदान अधिकृतलाई आवश्यक कागजातसहित जिम्मेवारी तोकेर खटाउने तयारीसमेत गरिएको उहाँले बताउनुभयो ।
कांग्रेस म्याग्दीले वडा अधिवेशनबाट सुरु हुने आन्तरिक निर्वाचन प्रक्रिया पालिका हुँदै प्रदेश र जिल्ला तहसम्म क्रमशः सम्पन्न गर्ने जनाएको छ । निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न जिल्लाका सबै तहका पार्टी संरचना, प्रतिनिधि तथा नेता–कार्यकर्ताबीच आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।
यसैबीच, कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशनको मिति तथा प्रक्रियालाई लिएर पार्टीभित्र फरक धारणा रहे पनि म्याग्दीमा भने जिल्ला तहका अधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी गरिएको कांग्रेस म्याग्दीले जनाएको छ ।