11/04/2026
मध्यपुर थिमिमा ‘गन्तव्य मध्यपुर’ सुरु: पर्यटन प्रवर्धन र सांस्कृतिक उत्सवको भव्य शुभारम्भ:चैत्र २८,२९,३० गते तथा वैशाख १ र २ गते विस्का: जात्रा ।
मध्यपुर थिमि, भक्तपुर
मध्यपुर थिमि नगरपालिकाभित्रका मूर्त-अमूर्त सम्पदा, मौलिक संस्कृति र स्थानीय उत्पादनलाई विश्वभर चिनाउने उद्देश्यका साथ शनिबारदेखि ‘गन्तव्य मध्यपुर’ अभियानको भव्य शुभारम्भ गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित नगरपालिकाले यो विशेष अभियान सुरु गरेको हो।
#कलात्मक पसल र स्थानीय उत्पादनको प्रवर्धन:
अभियानको अवसरमा शंखधर चोकमा नगरपालिकाद्वारा निर्मित र निजी क्षेत्रबाट सञ्चालित कलात्मक पसल कवलहरको उद्घाटन गरिएको छ। बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री सुरेश श्रेष्ठले ती पसलहरूको उद्घाटन गर्नुभयो।
शंखधर चोकदेखि बालकुमारी उकालोमा सञ्चालित यी पसलहरूमा स्थानीय हस्तकला र मौलिक उत्पादनहरू बिक्रीका लागि राखिनेछ। यसले स्थानीय सीपको प्रवर्धन हुनुका साथै नयाँ रोजगारीका अवसरहरू सिर्जना हुने उपप्रमुख विजय कृष्ण श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो।
प्रदेश सरकारको प्रतिबद्धता र बजेट:
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुरेश श्रेष्ठले मध्यपुरको सम्पदा संरक्षणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो:
"मध्यपुरको ऐतिहासिक जिब्रो छेड्ने जात्राको निरन्तरताका लागि प्रदेश सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरी वार्षिक २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।"
दुई पोखरीमा घरेलु उत्पादन मेला र धिमे प्रतियोगिता:
अभियानकै क्रममा दुई पोखरी परिसरमा नगरपालिका र भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा दुई दिने ‘स्थानीय रैथाने घरेलु उत्पादन मेला’आयोजना गरिएको छ। २८ वटा स्टल रहेको मेलामा स्थानीय खानपान र घरेलु सामग्रीको प्रदर्शनी गरिएको छ।
यसैगरी, मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा श्री राजगणेश धिमे खलःको सहकार्यमा आयोजित अन्तरनगर धिमेबाजा प्रतियोगिताले कार्यक्रममा थप रौनक थपेको थियो। प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर र काभ्रेका गरी कुल ३७ वटा समूहले सहभागिता जनाएका थिए।
चन्द्रागिरीको नास भैरव प्रथम:
कडा प्रतिस्पर्धाका बीच चन्द्रागिरीको श्री नास भैरव धिमे खलः प्रतियोगितामा प्रथम हुन सफल भएको छ। उत्कृष्ट ताल र प्रस्तुति पस्कँदै नास भैरव टोलीले उपाधि चुमेको हो।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउन सम्पदा, भेषभूषा र जात्राहरूको जगेर्ना गर्ने योजनाबद्ध काम भइरहेको बताउनुभयो। ‘गन्तव्य मध्यपुर’ अभियानले यहाँको अर्थतन्त्र र संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।