04/01/2026
प्रेस वक्तव्य
संरा अमेरिकी साम्राज्यवादले दक्षिण अमेरिकी स्वतन्त्र मुलुक भेनेजुएलामाथि जनवरी ३ मा (स्थानीय समयअनुसार राति २:०० बजे) कायरतापूर्ण एवं बर्बरतापूर्ण सैनिक हमला गरेकोमा नेपाल मजदुर किसान पार्टी विरोध एवं भर्त्सना गर्दछ । यही पुष १८ र १९ गते सम्पन्न नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद्ले भेनेजुएलामाथि अमेरिकी हमलाको विरोध गरी राष्ट्रपति मादुरो र उनकी श्रीमतीको सकुशल फिर्ताको माग गर्यो ।
सन १९९९ मा ह्युगो चाभेज राष्ट्रपति निर्वाचित भएयता भेनेजुएलामा बोलिभारियाली समाजवादी क्रान्ति अगाडि बढ्दै आएको हो । संसारका ठूला तेल खानीमध्ये भेनेजुएला पनि एक हो । भेनेजुएलाको तेल खानी तथा खनिज कब्जा गर्न जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्ने षड्यन्त्रमा अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन लागिरहेको हो ।
अमेरिकी साम्राज्यवादले सन २०११ देखि भेनेजुएलामाथि आर्थिक तथा व्यापारिक नाकाबन्दी लगाउँदै छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएली जनतालाई खाद्यान्न तथा स्वास्थ्य उपचारबाट वञ्चित गर्ने थप कदम चाल्दै छन् । अमेरिकी सरकारले राष्ट्रपति मादुरोमाथि लगाएको लागूपदार्थ ओसारपसारको आरोप झुटो र कपोलकल्पित हो । आफ्नो हैकम स्वीकार नगर्ने देशहरूमाथि हस्तक्षेप र आक्रमण गर्ने अमेरिकी साम्राज्यवादको नीति निन्दनीय छ । राष्ट्रपति मादुरोलाई बलपूर्वक गरिएको अपहरण अमेरिकी सरकारको मुनरो नीतिको सिलसिला हो ।
नेपाल मजदुर किसान पार्टी भेनेजुयलाको सार्वभौमिकतामाथि हस्तक्षेप तुरुन्त बन्द गर्न ट्रम्प प्रशासनलाई सचेत गराउँछ, राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गरी भेनेजुएली जनताको स्वतन्त्रताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना तथा संयुक्त राष्ट्र संघको बडापत्रको कदर गर्न आह्वान गर्दछ ।
भेनेजुएली जनताको साम्राज्यवाद विरोधी संघर्षमा विश्वका जनतासँग नेपाल मजदुर किसान पार्टी ऐक्यबद्धता व्यक्त गर्दछ । भेनेजुएला र ल्याटिन अमेरिकी क्षेत्रमा युद्ध होइन शान्ति आवश्यक भएको पार्टीको दृढ अडान पुनः दोहोर्याउँछ । अमेरिकी प्रशासनले संसारका अन्य देशको सार्वभौमिकता र आन्तरिक मामिलामा हस्तक्षेप गर्न अविलम्ब रोक्न जरुरी छ । भेनेजुएला र ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेप र आक्रमण तत्काल बन्द गर्न नेमकिपा अपिल गर्दछ ।
प्रेम सुवाल
सचिव