11/03/2026
टिकटकमा ‘मुसी डन’ भनेर चिनिने बसन्ती अहिले गहिरो पीडामा परेकी छन्। अनलाइन अर्डर क्यान्सिल गर्ने ग्राहकलाई सत्तो सराप गरेको भिडियोपछि चर्चामा आएकी उनी यतिबेला भने आफ्नो नवजात छोराको गम्भीर स्वास्थ्य अवस्थाका कारण निकै चिन्तित बनेकी छन्। केही दिनअघि मात्रै जन्मिएको उनको छोरालाई अचानक ज्वरो आएपछि उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो। चिकित्सकले बच्चालाई ब्लड इन्फेक्सन भएको भन्दै ६ दिनसम्म एन्टिबायोटिक उपचार गरे पनि अपेक्षित सुधार देखिएन।
स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि परिवारले बच्चालाई चितवन मेडिकल कलेज (CMC) मा सारिएको थियो। त्यहाँ थप परीक्षण गर्दा बच्चाको टाउकोमा पिप जमेको पत्ता लागेपछि चिकित्सक टोलीले तुरुन्तै शल्यक्रिया गरेको बताइएको छ। हाल बच्चालाई भेन्टिलेटरमा राखेर सघन उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
यस कठिन घडीमा बसन्तीले सामाजिक सञ्जालमार्फत सबैलाई आफ्नो छोराको स्वास्थ्यलाभका लागि प्रार्थना गर्न आग्रह गरेकी छन्। साथै उनले आर्थिक तथा मानसिक सहयोगको पनि अपेक्षा व्यक्त गरेकी छन्। अहिले परिवार निकै चिन्तित अवस्थामा रहेको बताइएको छ। धेरै शुभेच्छुकहरूले पनि उनको छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 🙏😢