18/01/2024
पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणले गति लियो, फागुन १८ सम्म धुलोमुक्त हुने अपेक्षा
चितवन, माघ ४-
निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ ।
भरतपुरको मूख्य प्रवेशद्वार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीव्र रुपमा काम अगाडि बढेको हो ।
२० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समाधान भएसँगै कामले गति लिएको देखिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन् ।
सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाइनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाइन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो ।
भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भए पनि मूख्य सडक, मुग्लिन–नारायणगढ सडक, नारायणगढ–पुलचोक सडक तीव्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ ।
निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाइनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ ।
निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए । फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाइ छ ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङगनाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
न्युज : डाइनमीक मिडिया