10/06/2026
समुदायको उत्थानशीलता सुदृढ गर्न समुदायद्वारा व्यवस्थापित वनको भूमिका
जेठ २७, चितवन । तस्विर कोमल चन्द्र भगत ।
वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय बल्खु, र नेपाल विश्वविद्यालय अनुदान आयोगको सहकार्यात्मक अनुसन्धान तथा नवप्रवर्तन अनुदानको आर्थिक सहयोगमा सञ्चालित हिन्दुकुश अर्थात हिमालय क्षेत्रमा जलवायु उत्थानशील उपायका रुपमा सामुदायिक वन व्यवस्थापन परियोजना सञ्चालन गरेको छ ।
यस परियोजनाले वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि विकसित भएका अनेक अवधारणामध्ये, नेपालमा विकसित भएको समुदायद्वारा व्यवस्थित वन आज विश्वसामु एक उदाहरणीय अभ्यासका रूपमा उभिएको छ । परियोजना अन्तर्गत करिब २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू हाल यस अभियानमा सहभागी छन्, जहाँ जनसहभागिता केवल कर्तव्य होइन, साझा जिम्मेवारी र गौरवसमेत बनेको छ । समय परिवर्तनसँगै वन व्यवस्थापनको स्वरूप पनि परिवर्तन हुँदै आएको छ । एक समय केवल संरक्षणमा केन्द्रित यो प्रणाली, आज सामाजिक र आर्थिक आवश्यकतासँग गाँसिँदै, आय–आर्जन र समृद्धिको बाटोतर्फ उन्मुख भएको देखिन्छ । किनकि, वनसँगको सम्बन्ध पनि ठाउँ र परिस्थिति अनुसार फरक–फरक हुन जान्छ । त्यसैले कसैका लागि यो जीवनयापनको आधार हो भने कसैका लागि सम्भावनाको स्रोत ।
ग्रामीण भेगमा वन घाँस, दाउरा र पशुपालनसँग जोडिएको जीवनशैलीको अभिन्न अङ्ग हो । शहरी परिवेशमा भने यसको उपयोग र अर्थ फरक ढङ्गले अनुभूत हुन्छ । त्यसैले वन व्यवस्थापन पनि समय, स्थान र आवश्यकताअनुसार परिवर्तनशील हुन नितान्त जरुरी छ ।
खस्किएको वन क्षेत्रलाई जोगाउनु एउटा लक्ष्य हो, तर पुनर्जीवित वनलाई विवेकपूर्ण ढङ्गले उपयोग गर्नु अर्को महङ्खवपूर्ण दायित्व हो । यदि व्यवस्थापन सदा संरक्षणमै सीमित रह्यो भने, वनका सम्भावित लाभहरू ओझेलमा पर्न सक्छन्, र समुदायसँगको सम्बन्धमा नै दूरी पैदा हुन सक्छ । यही सन्दर्भमा, नेपालमा विभिन्न समुदायमा आधारित वन व्यवस्थापनका मोडलहरू विकसित भएका छन् । यिनीहरूले आर्थिक, सामाजिक र पर्यावरणीय तीनै क्षेत्रमा भिन्न तरिकाले योगदान पु¥याएका छन् । तर, यिनीहरूको योगदान कत्तिको सन्तुलित छ भन्ने विषयमा विश्वविद्यालय अनुदान आयोगद्वारा सहयोगार्थ अनुसन्धानले विभिन्न समुदायद्वारा व्यवस्थित वनको अध्ययन गर्दा, सामुदायिक वन– उपयोगितासँग मध्यम धारमा व्यवस्थापन गर्ने हुनाले त्यहाँको वनको हैसियत राम्रो रही पर्याप्त स्रोतको सदुपयोग लिन सक्ने र स्थानीय स्वायत्तता, संस्थागत सुदृढता र सामाजिक एकता कायम भएको पाइएको छ । यी आयामहरूलाई मध्यनजर गर्दै मध्यम गतिको वन व्यवस्थापन अपनाउँदा पर्यावरणीय अखण्डता जोगिनुका साथै, स्थानीय तहमा आय–आर्जनका नयाँ अवसर एवम् सम्भावनासमेत सिर्जना भएका छन् ।
अर्कोतर्फ, मध्यवर्ती क्षेत्रका वनहरू भने अझै पनि बढी संरक्षणमुखी र न्यून व्यवस्थापनमा आधारित देखिन्छन् । यसले गर्दा वन त बाक्लो भएको छ, तर सोचे अनुरूपको हैसियत बन्न सकेको छैन । यद्यपि, सहभागितामूलक शासन र पर्या–पर्यटनको लाभलाई न्यायोचित रूपमा बाँडफाँड गर्दै, यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणमा ठूलो सघाउ पु¥याएको छ ।
कबुलियती वन— हैसियत बिग्रिएका वन भए तापनि, सीमान्तकृत समुदायका लागि आशाको किरण र चरम व्यवस्थापनमुखी रहेकाले यसले जीविकोपार्जनमा सुधार ल्याउँदै सामाजिक र आर्थिक सशक्तीकरणको मार्ग प्रशस्त गरेको छ ।
वनका यी सबै मोडलहरू संरक्षणको मूल भावनामा आधारित छन् । सामाजिक अनुशासनको माध्यमबाट यिनीहरूले वन व्यवस्थापनलाई थप सुदृढ बनाएका छन् । यसले वन मात्र जोगाएको छैन, बरु जलवायु परिवर्तन र संकटसँग जुध्न समुदायको अनुकूलन क्षमता समेत बढाएको छ । आज समुदायमा आधारित वन व्यवस्थापन, जीविकोपार्जनको सामान्य आवश्यकताभन्दा माथि उठेर सामाजिक, आर्थिक र वातावरणीय लचिलोपन निर्माण गर्ने मुख्य आधार बनेको छ ।
तर, विडम्बना, नीतिगत तहमा यस्ता महङ्खवपूर्ण योगदानलाई अझै पनि पर्याप्त रूपमा समेट्न र पहिचान दिन सकिएको छैन । बदलिँदो परिवेशमा, समुदायमा आधारित वनले खेलेको यो ऐतिहासिक भूमिकाको सही मूल्याङ्कन हुनुपर्छ । अबको आवश्यकता भनेको एउटै नीति सबै ठाउँमा लागू गर्नु होइन, बरू सामुदायिक वनमा जीविकोपार्जनका अवसर विस्तार गर्ने, मध्यवर्ती वनमा स्थानीय समुदायको निर्णय अधिकार बढाउने र कबुलियती वनमा, वनमा आधारित साना उद्यम तथा समावेशी संस्थागत प्रणालीलाई सुदृढ बनाउने हो । र, यसलाई उचित मान्यता दिने प्रभावकारी संयन्त्र निर्माण गर्नु नै आजको मुख्य आवश्यकता हो ।
अन्ततः केबल परम्परागत ढङ्गले मात्र नभई, समग्र भूपरिधि तहमा सबै वन प्रारूपलाई रणनीतिक रूपमा जोड्ने ’मोज्याक शैली’ अवलम्बन गरिएमा मात्र पारिस्थितिकीय पुनस्र्थापना र सामाजिक–आर्थिक सशक्तीकरणबीच सन्तुलन कायम भई जलवायु परिवर्तन जस्तो विश्वव्यापी सङ्कटको सामना गर्न सक्ने उत्थानशील समुदायको निर्माण हुनेछ । कुल ४६ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकिएको नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश हो । वन केवल प्रकृतिको शृङ्गार मात्र होइन, हाम्रो जीवन, भविष्य र अस्तित्वसँग गहन रुपमा गाँसिएको अमूल्य निधि हो ।