14/08/2026
७४ किलो च्याउ प्रकरणमा प्रहरी र च्याउ उत्पादक किसान संघको दाबी बाझियो
सुर्खेत — सुर्खेतमा ७४ किलो च्याउ बरामद भएको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत र च्याउ उत्पादक किसान संघ नेपाल, कर्णाली प्रदेशको दाबी बाझिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको प्रेस विज्ञप्तिमा बरामद च्याउलाई ‘प्रतिबन्धित रातो जङ्गली च्याउ’ भन्दै एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना चेकपोस्टमा जाँचका क्रममा बसको डिक्कीमा पाँच बोरामा राखिएको करिब ७४ किलो च्याउ फेला परेको थियो।
तर, च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश भूगोलतर्फका इन्चार्ज विजय ज्ञवालीले प्रहरीको दाबीप्रति आपत्ति जनाएका छन्। ज्ञवालीका अनुसार फोटो तथा उपलब्ध विवरण हेर्दा बरामद च्याउ ‘रातो च्याउ (Ganoderma lucidum)’ नभई वर्षायाममा ओसिलो काठमा फल्ने ‘Chicken Mushroom’ समूहको च्याउ हुनसक्ने देखिन्छ।
संघले वैज्ञानिक परीक्षण नै नगरी च्याउलाई ‘प्रतिबन्धित’ भन्नु गलत भएको जनाएको छ। संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज ज्ञवालीले च्याउ रातो प्रजातिको नै भए पनि त्यसलाई स्वतः प्रतिबन्धित भन्न नमिल्ने भन्दै पहिले वैज्ञानिक पहिचान, त्यसपछि कानुनी वर्गीकरण र अन्त्यमा ओसारपसारको वैधानिकता परीक्षण गर्नुपर्ने बताएका छन्।
यस्तै, संघका अनुसार सम्बन्धित पक्षसँग रहेको कागजातमा च्याउको मूल परिमाण ७० किलो र मूल्य प्रतिकिलो २०० रुपैयाँ गरी १४ हजार रुपैयाँ कायम गरिएको उल्लेख छ। ढुवानीका क्रममा ओस तथा आर्द्रताका कारण तौल बढेर जाँचका क्रममा करिब ७४ किलो देखिएको सम्बन्धित पक्षको भनाइ रहेको संघले जनाएको छ।
यस घटनामा प्रहरीले ‘प्रतिबन्धित रातो जङ्गली च्याउ’ भनेको छ भने च्याउ उत्पादक किसान संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश भूगोलतर्फका इन्चार्ज विजय ज्ञवालीले त्यसलाई खाद्य च्याउ हुनसक्ने दाबी गरेका छन्। त्यसैले च्याउको वास्तविक प्रजाति, प्रतिबन्धित भएको कानुनी आधार र ओसारपसारसम्बन्धी कागजातबारे सम्बन्धित निकायबाट थप स्पष्टता आवश्यक देखिएको छ।
वैज्ञानिक परीक्षण तथा सम्बन्धित सरकारी निकायको आधिकारिक निष्कर्षपछि मात्रै बरामद च्याउ प्रतिबन्धित हो वा होइन भन्ने विषय टुंगो लाग्ने देखिन्छ।
Symbolic image - (Ai- Generated )