21/08/2026
बाँदरको बढ्दो उपद्रोले भोजपुरका किसान चिन्तित, पाकेको मकै जोगाउनै मुस्किल
भोजपुर : भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ। विशेषगरी मकै पाक्ने समयमा बाँदरको झुण्ड खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।
जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो समय बाँदरको आतंक बढेको किसानहरूले बताएका छन्। विशेषगरी तल्लो भेग तथा वनजंगल आसपासका बस्तीमा बाँदरको समस्या बढी देखिएको छ। भोजपुरका नौवटै स्थानीय तहका अधिकांश भू–भागमा बाँदरले बालीनालीमा क्षति पुर्याउँदै आएको किसानहरूको गुनासो छ।
मकै पाक्ने समयमा बाँदरको हुल खेतबारीमा पस्ने र छोटो समयमै ठूलो क्षति पुर्याउने गरेको स्थानीयहरू बताउँछन्। बाँदरले मकै मात्र नभई तरकारी तथा बगैंचामा लगाइएका विभिन्न फलफूलसमेत नष्ट गर्न थालेपछि किसान थप समस्यामा परेका छन्।
भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतले बाँदर नियन्त्रणका लागि तत्कालीन तथा दीर्घकालीन दुवै प्रकारका उपाय आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने बेलामा बाँदरले नष्ट गरिदिन्छन्। खेतबारीमा गएर दिनभरि कुर्नुपर्ने अवस्था छ। यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्छ।”
बालीनाली जोगाउन किसानहरूले खेतबारीमै स–साना टहरा बनाएर निगरानी गर्ने गरेका छन्। कतिपय परिवारका दुईदेखि तीन जनासम्म सदस्य दैनिक रूपमा खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने अवस्था रहेको किसानहरूको भनाइ छ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले बाँदरको समस्या बढी देखिएका क्षेत्रमा किसान तथा स्थानीय तहको मागका आधारमा बाँदर धपाउने यन्त्र वितरण गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “बाँदरको समस्या धेरै ठाउँमा देखिएको छ। तत्कालका लागि बाँदर धपाउने यन्त्र वितरणलगायतका उपाय अपनाइएको छ। तर, समस्याको दीर्घकालीन समाधानका लागि थप प्रभावकारी योजना आवश्यक छ।”
बाँदरको बढ्दो उपद्रोका कारण कतिपय किसानले खेतीपातीबाट पर्याप्त उत्पादन लिन नसक्ने अवस्था सिर्जना भएको छ। खेतीपातीमै निर्भर परिवारका लागि बाँदरको समस्या आर्थिक मात्र नभई सामाजिक चुनौतीसमेत बन्दै गएको स्थानीयहरूको भनाइ छ।
किसानहरूले बाँदर नियन्त्रणका लागि स्थानीय तह, वन कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय गरी प्रभावकारी र दीर्घकालीन योजना ल्याउन माग गरेका छन्। अन्नबाली, तरकारी तथा फलफूलमा हुने क्षति न्यूनीकरण गर्दै किसानको जीविकोपार्जन सुरक्षित गर्न राज्य गम्भीर बन्नुपर्ने उनीहरूको माग छ।