09/01/2026
यम बुद्धको बुवाको शुभकामना तथा निमन्त्रणा : "यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम"
सुन्दरहरैँचा । यम बुद्ध फाउन्डेशनको आयोजनामा स्वर्गीय र्यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आगामी माघ १ गते सुन्दरहरैँचा नगरपालिका-१२ स्थित सुकुना बहुमुखी क्याम्पस परिसरमा आयोजना हुने भएको छ । कार्यक्रमको अवसरमा यम बुद्धका बुवा अम्बिका प्रसाद अधिकारीले शुभकामना सन्देश दिँदै सबैलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका छन् ।
शुभकामना तथा निमन्त्रणा सन्देशमा अधिकारीले यम बुद्धले लेखेका र गाएका शब्दहरू केवल गीत मात्र नभई समाज र युवाहरूको भावना बोलेका सन्देश भएको उल्लेख गरेका छन् । उनका अनुसार यम बुद्धका सिर्जनाहरूले युवाहरूमाझ सकारात्मक सोच, चेतना र सामाजिक जिम्मेवारीको भावना प्रवाह गरेको थियो। उनले यम बुद्धको देहावसान भए पनि उनका विचार, कला र सन्देश अझै जीवित रहेको भन्दै ती सकारात्मक सन्देशलाई समाजभर फैलाउन सबैसँग आग्रह गरेका छन् ।
यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मानस्वरूप आयोजना गर्न लागिएको कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा सङ्गीतमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुका साथै युवामाझ सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने ‘यम बुद्ध छात्रवृत्ति कोष’ स्थापना गर्नु रहेको छ । आयोजकका अनुसार उक्त कोषमार्फत शिक्षा पहुँचबाट वञ्चित हुनसक्ने विद्यार्थीहरूलाई दीर्घकालीन रूपमा सहयोग गर्ने योजना बनाइएको छ ।
आयोजकले यम बुद्धको स्मृतिलाई शिक्षा र सामाजिक उत्तरदायित्वसँग जोड्दै कार्यक्रमलाई अर्थपूर्ण र स्मरणीय बनाउने तयारी भइरहेको जनाउँदै स्थानीय युवा, विद्यार्थी तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।