01/08/2026
जनकपुरधाममा हिन्दु–मुस्लिम विवाद समाधानतर्फ सरकारको पहल, गृहमन्त्री गुरुङको सक्रियतामा तीन तहका सरकारबीच छलफल
जनकपुरधाम, साउन १७ । केही दिनयता जनकपुरधाममा देखिएको हिन्दु–मुस्लिम समुदायबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको सक्रिय पहलमा आज तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा संघीय सरकार, मधेश प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेशका गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा गृहमन्त्री सुधन गुरुङको उपस्थिति रहेको थियो।
छलफलका क्रममा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिको समीक्षा गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उपायबारे गम्भीर छलफल भएको जनाइएको छ।
बैठकमा हिन्दु सम्राटको प्रतिनिधिमण्डलले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा पेश गरेको थियो। सरकारले उक्त मागपत्र ग्रहण गर्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय र छलफल गरी समाधानको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
सरकारले वर्तमान परिस्थितिको संवेदनशीलतालाई मध्यनजर गर्दै प्राप्त मागहरूमाथि आवश्यक अध्ययन र परामर्शपछि उपयुक्त निर्णय लिने जनाएको छ। साथै जनकपुरधामको शान्ति–सुरक्षा, सामाजिक सद्भाव र सामान्य जनजीवनलाई सहज बनाउने विषयलाई प्राथमिकतामा राखिएको बैठकमा सहभागीहरूले बताएका छन्।
गृहमन्त्री गुरुङले पछिल्ला केही दिनदेखि विभिन्न राजनीतिक दल, सरोकारवाला पक्ष तथा समुदायका प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै विवादलाई वार्ता र सहमतिबाट समाधान गर्ने प्रयास गर्दै आएका थिए। त्यसकै निरन्तरताका रूपमा आजको छलफललाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सरकारले सबै पक्षलाई संयमित रहन, आपसी सद्भाव कायम राख्न र कुनै पनि समस्याको समाधान वार्ता तथा संवादमार्फत खोज्न आग्रह गरेको छ। साथै आजको छलफलले सरकार सबै समुदाय र पक्षसँग समान व्यवहार गर्दै सहकार्य र संवादका माध्यमबाट समाधान खोज्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताइएको छ।