29/09/2025
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो
लेटाङ । नेपालीहरूको महान चाड बडादशैं अन्तरगत आज सप्तमी तीथि अर्थात फूलपाती भित्र्याउने दिन ।
देशभरका विभिन्न ठाउँमा झै आज मोरङको लेटाङस्थित नेपाली सेनाको पूर्वी पृतना सैनिक तालिम शिक्षालयमा पनि विधिपूर्वक भव्यरुपमा बाजागाजासहित फुलपाती भित्र्याइएको छ ।
पूर्वी पृतना सैनिक तालिम शिक्षालयको आयोजना तथा लेटाङ नगरपालिकाको समन्वयमा भएको फूलपाति बढाईं कार्यक्रम अन्तरगत लेटाङ–३ स्थित पञ्चकन्या कालिका मन्दिरबाट फूलपाति भित्र्याइएको हो ।
लेटाङ ४ स्थित सैनिक शिक्षालयबाट नेपाली सेनाको टोली र पञ्जेबाजाको टोलीसहित लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, शिक्षालय प्रमुख, प्रहरी, नगर प्रहरी, स्थानीयवासी लगायतको सहभागितामा निस्किएको फूलपाति शोभायात्रा वीपी चोक हुँदै लेटाङ ३ विरनस्थित पञ्चकन्या कालिका मन्दिरमा पुगेको थियो ।
सो अवसरमा नेपाली सेनाले फुलपाति बढाईको सलामी अर्पण गर्नुका साथै तोम सलामी पनि अर्पण गरेको थियो ।
मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरेपश्चात शोभायात्रा विरानस्थित नगर अस्पताल हुँदै गंगेचोक पुगेर वीपी चोक हुँदै पुनः शिक्षालयमा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला पोखरेल, पूर्वी पृतना सैनिक तालिम शिक्षालयका प्रमुख, लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राई र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठसहितका जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नगरवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
जनसहभागितामा सामूहिक रूपमा फुलपाती भित्र्याउने परम्पराले समाजमा एकता, भाईचारा र सहकार्यको भावना प्रगाढ बनाएको देखिएको छ ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा नेपालीहरूले दशैंको फुलपातीको दिनलाई विशेष श्रद्धा र उल्लाससहित मनाउँदै आएका छन् । हेर्नुहोस् तस्विरहरु :