12/11/2025
झापामा प्रहरी कार्यालय तोडफोड र आगजनी प्रकरणमा १७ जना पक्राउ
विराटनगर । झापाको विभिन्न प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, भदौ २४ गते झापाको इलाका प्रहरी कार्यालय दमकमा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड र प्रहरीका हातहतियार लुटपाट गरिएको थियो। घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
हातहतियार लुटपाट प्रकरणमा इलाम चुलाचुली–३ का १९ वर्षीय सुजल राई र दमक–७ का १९ वर्षीय गणेश शर्मा पक्राउ परेका छन्। उनीहरू विरुद्ध हातहतियार खरखजना, चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गरेको आरोपमा पाँचथर मिक्लाजुङ–५ का साजन लुहागुन (२१), दमक–३ का रियाज सिलवाल (१९), इलाम चुलाचुली–३ का नकुल अधिकारी (२२), दमक–१ का दिपचन महतो (३४) र दमक–६ का लोमस कटुवाल (२४) पक्राउ परेका छन्। उनीहरू विरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, दमक–३ स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको SLR राइफल लुटपाट प्रकरणमा पाँचथर फाल्गुनन्द–७ का स्थायी बासिन्दा र दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बु पक्राउ परेका छन्। उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा पनि तोडफोड र आगजनीमा संलग्न समूहले प्रहरी कर्मचारीलाई बाँसमा डोरीले बाँधी अमानवीय व्यवहार गरेको थियो।
सो घटनामा संलग्न बिर्तामोड–५ का राजन चौधरी (२२), आयुस धिमाल (२०), कनकाई–१ का गोपाल संग्रौला (४२), अर्जुनधारा–७ की पुजा मगर (२४), सुरज मगर (२८) र सुनसरी हरिनगर–१ का साहिल अन्सारी (२२) पक्राउ परेका छन्। उनीहरू विरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी, बिर्तामोड–५ का नवराज राई (२६) लाई ज्यान मार्ने उद्योगको अभियोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ २४ गते कन्काई नगरपालिका–३ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गामा भएको तोडफोड र आगजनी प्रकरणमा झापा शिवसताक्षी–१० का संजय बस्नेत (३१), कुशल तिम्सिना (२५) र कन्काई–३ का बिष्णु विश्वकर्मा (२५) पक्राउ परेका छन्। उनीहरू विरुद्ध पनि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।