21/04/2026
रतुवामाईको जेसीबी तीन महिनादेखि ग्यारेजमै थन्किएको खुलासा !
बैशाख ८, मंगलबार | रबिन्द्र बराल
मोरङको रतुवामाई नगरपालिकाको स्वामित्वमा रहेको जेसीबी मेसिन विगत तीन महिनादेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको छ। जनताको करबाट खरिद गरिएको उक्त उपकरण वर्षाका समयमा विकास निर्माणका कामलाई छिटो र प्रभावकारी बनाउन प्रयोग हुँदै आएको थियो।
तर हाल उक्त जेसीबी झापाको दमकस्थित अटो सर्भिस सेन्टरमा लामो समयदेखि मर्मतको नाममा राखिएको पाइएको छ। नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले भने सात दिनअघि मात्रै मर्मतका लागि पठाइएको जानकारी दिएका थिए। तर ग्यारेज स्रोतका अनुसार मेसिन तीन महिनादेखि त्यहीँ थन्किएको छ।
ग्यारेज सञ्चालकका अनुसार नगरपालिकाले केही समयअघि पूर्ण मर्मतका लागि लागत अनुमान मागेको थियो। उनले करिब ३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान पेश गरेका थिए। तर नगरपालिकाका प्रतिनिधिले सामान्य ५ देखि १० हजार रुपैयाँभित्रै मर्मत गर्न निर्देशन दिएका थिए। त्यसअनुसार ७ हजार रुपैयाँसम्म खर्च गरिए पनि मेसिन पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसकेको उनले बताए।
उनका अनुसार सुरुदेखि नै नियमित मर्मत, मोबिल र अन्य आवश्यक सामग्री प्रयोग नगर्दा अहिले ठूलो खर्च आवश्यक परेको हो। साथै चालकको लापरवाहीका कारण समस्या बढेको पनि उनले उल्लेख गरे।
लामो समयसम्म नगरको सम्पत्ति ग्यारेजमा थन्किँदा समेत नगरवासीले चासो नदेखाउनु र नगरपालिकाले पनि यसबारे सार्वजनिक जानकारी नदिनु गम्भीर लापरवाहीको विषय बनेको छ।