
30/04/2025
वीरगंज महानगरपालिका वडा नं. १६ गहवा रेल्वेरोडमा अवस्थित शालोम सेकेन्ड्री स्कूल +२ का प्रिन्सिपल तथा शेयरदार दिलिप कुमार पडितलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ ।
बहुदरमाई नगरपालिका वडा नं. ३ टोल नगरदाहा निवासी पडितले शालोम सेकेन्ड्रीमा लगानी गरेका शेयरदार टेकचन्द्र साहलाई भुक्तानी गर्नुपर्ने सात लाख रुपैयाको चेक २०८१/१२/३१ गतेको मितिमा दिएका थिए ।
मञ्जुश्री फाईनान्स लिमिटेड वीरगंजको नामले रहेको सो चेक पटक–पटक बैंकमा जाँदा चेक अनुसारको मौज्दात नरहेको हुनाले सो चेक बाउन्स भएको थियो । पिडित टेकचन्द्र साहको जाहेरीको आधारमा पर्सा प्रहरीले पडितलाई पक्राउ गरी बैंकिङ्ग कसुर मुद्दामा सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रारुप एजुकेशन फाउन्डेसन प्रा.लि. घण्टाघर पानगल्ली वीरगंजका सञ्चालक समेत रहेका पडितले हरिखेतान बहुमुखी क्याम्पस वीरगंज लगायतका अन्य क्याम्पसहरुमा अध्यापन गराउदै आएका छन् ।
शिक्षण जस्तो पवित्र पेशामा लागेका पडितले आफ्नै शेयरदार साहलाई करिब चार महिना देखि पिडा दिदै आईरहेको हुनाले बाध्य भएर न्यायको लागि प्रहरीलाई गुहारेको जनाईएको छ ।