27/08/2026
वीरगंज - रक्षाबन्धन पर्वको अवसरमा सगरमाथा एकेडेमी वीरगञ्ज प्रा.लि.ले आयोजना गरेको ‘राखी मेकिङ प्रतियोगिता–२०८३’ उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
वीरगंज महानगरपालिका–१२, मुरलीस्थित विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो कला, कल्पनाशक्ति र सिर्जनात्मक क्षमता प्रयोग गर्दै विभिन्न आकर्षक तथा मौलिक राखी निर्माण गरेका थिए।
विद्यालयका प्रधानाध्यापक तथा नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा माइस्थान विद्यापीठ माध्यमिक विद्यालय, वीरगञ्जका प्रधानाध्यापक मुनिलाल कर्ण प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगिताको मूल्याङ्कनका लागि गुगल एकेडेमीका संस्थापक तथा प्रधानाध्यापक नरेश कुर्मी, ए प्लस एकेडेमीका संस्थापक तथा प्रधानाध्यापक देव जयसवाल र नवदीप माध्यमिक विद्यालयकी संस्थापक तथा प्रधानाध्यापक सुशीला साह निर्णायकका रूपमा रहेका थिए।
रक्षाबन्धन तथा मौलिक संस्कृतिको महत्वबारे विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै उनीहरूमा रहेको सिर्जनात्मक तथा कलात्मक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कारसहित नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि तथा निर्णायकहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति तथा प्रधानाध्यापक जियालाल गुप्ताले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, निर्णायक मण्डल, शिक्षक–कर्मचारी तथा सहभागी विद्यार्थीहरूप्रति आभार व्यक्त गरे। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अध्ययनसँगै सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिइने बताए।