28/06/2018
१४ आषाढ, बिहीबार । मणिग्राम, तिलोत्तमा, रूपन्देही ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने आवश्यकता अब नरहेको बताउनु भएको छ ।
स्थानीय सामुदायिक संस्थाहरू समेत गुणस्तरमा नमूना र कीर्तिमानधारी बनिसकेको सन्दर्भमा गुणस्तरीय शिक्षा जिल्लाभित्रै र तिलोत्तमा नगरभित्रै प्राप्त गर्न सकिने बताउनुभयो ।
तिलोत्तमा नगरका विभिन्न विद्यालयबाट सम्मिलित भई २०७४ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई आज (बिहीबार) राममणि बहुमुखी क्याम्पसमा सम्मान गर्दै नगरप्रमुख घिमिरेले सो धारणा व्यक्त गर्नुभएको हो ।
राममणि बहुमुखी क्याम्पसको विस्तारित समितिले आयोजना गरेको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले महङ्गो शुल्क तिरेर मात्र शिक्षा स्तरीय हुन्छ भन्ने धारणा गलत भएको बताउनुभयो ।
क्याम्पस प्रमुख मोहनराज शर्माले शत प्रतिशत नतीजाको कीर्तिमान बनाउँदै फरक विशेषता सहित क्याम्पसले पहिचान बनाएको उल्लेख गर्नुभयो ।
क्याम्पसको विस्तारित समितिका संयोजक एवम् सञ्चालक समिति सदस्य यज्ञमूर्ति गैरेको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान कार्यक्रम संयोजक लिलाबल्लभ पाण्डेले हालसम्मका उत्कृष्ट नतीजाले राममणि उचाई कायम गरेको बताउनुभयो ।
क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरबाट ३.६ तथा सो भन्दा माथिल्लो जी.पी.ए. प्राप्त गरेका विद्यार्थी उपहार सहित सम्मान–पत्रले सम्मानित भएका थिए ।
कार्यक्रमममा क्याम्पस सञ्चालक समितिका सदस्य ध्रुवकुमार धिताल, देवकला भट्टराई, प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली, सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, दिवा कार्यक्रम संयोजक नोवराज तिवारी, सङ्काय प्रमुखहरूः नारायणप्रसाद भुसाल, खुमकान्त पाण्डे, कर्मचारी संघका सभापति उमेशकुमार शाही, ग्यालेक्सी पब्लिक स्कूलका प्रबन्ध निर्देशक बिलप्रसाद गुरूङ्, उत्कृष्ट विद्यार्थीका अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो ।