02/10/2025
दशैमा आफु जन्मेको पर्वत कुर्घाको घरलाई सम्झँदै रामकृष्ण शर्माको मार्मिक पत्र (भाग–२)
बुटवल।
मुटुको टुक्रा, प्यारो घर—
तिमीलाई प्रणाम गर्दै सम्झना पठाउँछु। तिम्रो कुशलता र दीर्घायुका लागि कुलदेवता तथा नवदुर्गा भवानीसँग प्रार्थना गर्दछु।
कामको व्यस्तताका कारण यो दशैँमा पनि तिमीसँगै रहन नसकेको पीडा छ। त्यसैले तिम्रो मायालु सम्झनामा केही शब्द लेख्दै छु।
प्रिय घर,
तिम्रो बारेमा लेख्न खोज्दा मनमा अनगिन्ती प्रश्नहरू उर्लन्छन्। जन्मे–हुर्केको घरबाट टाढा रहनु पर्दाको पीडा शब्दमा कसरी समेटूँ? तर पनि छटपटाएको मनलाई केही राहत दिने आशामा यो पत्र लेख्दैछु।
पत्र लेख्दा–लेख्दै हात कामिरहेका छन्, मनमा तरङ्गहरू उर्लिरहेका छन्। शरीर पसिनाले भिजेको छ। भावनाको प्रवाहले मलाई अशान्त बनाइरहेको छ।
प्रिय घर,
०३१/३२ सालतिर बाबाले अपार मेहनत गरेर तिमीलाई निर्माण गरेको कथा म माताजीको मुखबाट सुन्ने गर्छु। तिम्रो छायामा हुर्किँदै तिमीले व्यहोरेका दुःख, कष्ट र संघर्षहरू म बिर्सेको छैन। आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि तिमीले सामना गरेका ठूला–ठूला चुनौतीहरू आज पनि मेरो सम्झनामा ताजा छन्।
हाम्रो लागि तिमीले गरेको त्याग र माया वर्णन गरेर सकिन्न। जस्तोसुकै अप्ठ्यारो परिस्थिति भए पनि आत्मसात् गर्न सक्ने तिम्रो शक्ति अद्भुत छ।
त्यतिबेला स्थानीय सामन्त र फटाहाहरूले दिएका चुनौतीहरूलाई सामना गर्दै निरन्तर अगाडि बढिरहेकामा तिमी धन्य छौ। तिमी कहिल्यै झुकेनौ; सतिसालझैँ अटल रह्यौ। चारैतिरबाट आक्रमण भए पनि तिम्रो दृढता नढल्यो—त्यही त हाम्रो गौरवमय इतिहास हो।
प्रिय घर,
दशैँ आइसकेको छ। “कताबाट आउँछ कान्छो?” भन्दै मलाई हेरेर बसेका हौला। तर चाहना हुँदाहुँदै पनि म आउन सकिन, यसको लागि क्षमाप्रार्थी छु।
दशैँ आउँदा कमेरो लगाउने, रातो माटोले लिप्ने, पुराना ब्याट्री फोरेर कालो लगाउने तिम्रो उत्साह म बिर्सेको छैन। त्यो सबै आज पनि मेरो मुटुमा जिउँदो छ।
तर, अहिलेको वातावरण फेरिएको छ। म तिमीभन्दा टाढा छु। तिमीलाई माया गर्ने मान्छेहरू पनि थोरै मात्र बाँकी छन्। वरिपरिका घरहरू पनि तिमीजस्तै खाली र एक्लै छन्।
माइला बा, “कान्छो आयो भने सत्र खेल्न हुन्थ्यो” भन्ने साइला बा, तलतिर मोति कान्छा बा, पल्तिर दुर्गा दाइ—अहिले कोही पनि हुनुहुन्न । वरिपरिका मान्छेहरू पनि बसाइँसराइ गरिसके।
प्रिय घर,
हामी हुँदा समेत तिमीलाई दुःख दिएकै थियौँ, अहिले झन् कति गाह्रो होला तिमीलाई?
तिम्रो बगैँचाका फलफूलहरूले कति बाटो हेरेर बसेका होलान्? कटहर, लौसी, सुन्तला, आँप, आरु, आरुपखरा, नासपाती, अम्बा—सबैले हामीलाई सम्झिरहेका होलान्।
स्यानी चौतारी, जुकिया र तिनधाराको पानी, खोलाखर्क र चौधरे मुनीको घाँस, फाटको खेत, खोरियाको बारी, कुटमिरा, दबदय र बडाहरका रुखहरू—सबैले कति खोजिरहेका होलान्।
झाँक्रीथानको दिदिको घरले समेत हाम्रो बाटो हेरेको होला।
प्रिय घर,
तिम्रो लिपपोत, संरक्षण—सब छोडेर गएको छु म। तिमी कति रोएका हौला, कति निराश, कति एक्लो महसुस गरेका हौला? मन कति आत्तिएको होला?
तिम्रो मायामा रमाउने चाहना हुँदाहुँदै पनि विभिन्न कारणले तिमीबाट टाढा रहनु परेको छ। तिमीलाई संरक्षण गर्न नसक्दाको अपराधबोध मलाई सताइरहेको छ।
दशैँ आयो भन्दै समाज रमाइरहेको छ, तर तिमी नभएको ठाउँमा बनेको घरमा मलाई कुनै रमाइलो लाग्दैन।
दाजुभाइ छरछिमेकबीच झगडा भए पनि दशैँमा टिका लगाएर मिल्ने क्षण कति आनन्दमय हुन्थ्यो! सायद दशैँको यही अर्को सुन्दरता थियो।
प्रिय घर,
तिमीलाई पत्र लेख्दै गर्दा म झन् भावुक हुँदैछु। सपनामा पनि “मेरो घर” भन्दै चिच्याइरहेको छु।
अहिले त सबै सुनसान देखिन्छ। दशैँ आउँछ भनेर चौपारीमा जम्मा भएर बाटोघाटो सफा गर्ने, पिङ खेल्ने—यी सबै कुरा अब एकादेशको कथा जस्ता भएका छन्।
वरिपरिका घरहरूमा पनि जमरा राखिएको होला तर छोराछोरी टाढा छन्, बाबाआमाले दहीमा मुछेका राता अक्षता त्यत्तिकै सुकिरहेका होलान्।
प्रिय घर,
यो पीडा तिम्रो मात्र होइन, अरु धेरै घरहरूको पनि हो। फल्ला, साँहुधर, छागादी, आखेत, खोरिया जस्ता गाउँका घरहरूले पनि छोराछोरीको पर्खाइमा उस्तै पीडा सहेका छन्।
सायद यो पत्र तिम्रो लागि अन्तिम पत्र पनि हुन सक्छ। दशैँमा आउन र तिमीलाई संरक्षण गर्न नसकेकोमा म तिमीसँग माफी माग्छु। आशा छ तिमीले मेरो बाध्यता बुझेर मलाई माफ गर्नेछौ।
साथै, बाटोमा हिँड्दा तिम्रो ख्याल गर्ने वरिपरिका छरछिमेक तथा शुभचिन्तकहरूलाई मेरो तर्फबाट विजयादशमीको शुभकामना र सम्झना सुनाइदिनु।
उहीँ रामकृष्ण शर्मा
हाल बुटवल ।