20/05/2026
भारतले सुरु गर्यो अघोषित नाकाबन्दी, सं'कटमा नेपाली उद्योगी र ६० हजार मजदुर !
पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै भारत निर्यात हुने नेपालको दोस्रो ठूलो वस्तु 'तयारी चिया' माथि भारतले इतिहासकै सबैभन्दा कठोर नीति थोपरेर अघोषित नाकाबन्दी गरेको छ। मे १ (वैशाख १८) देखि भारतको टी बोर्डले '१०० प्रतिशत गुणस्तर परीक्षण' को नयाँ झन्झटिलो नियम लागू गरेपछि झापा र इलामका उद्योगीहरूले भारततर्फ चिया पठाउन पूर्ण रूपमा छाडेका छन्, जसका कारण विगत तीन सातादेखि चिया निर्यात ठप्प छ।
पहिले एक लटको एउटा ट्रक परीक्षण गरे हुनेमा अहिले प्रत्येक ट्रकको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिट्रक १५ हजार भारु खर्च उद्योगीले नै बेहोर्नुपर्ने र कोलकाताबाट ल्याब रिपोर्ट आउनै १५ दिन लाग्ने बाध्यता सिर्जना गरिएको छ। भारतीय उत्पादन (तरकारी र फलफूल) नेपाल भित्रिँदा एक घण्टामै ल्याब पास हुने तर अन्तर्राष्ट्रिय रूपमा 'ग्रान्ड गोल्ड मेडल' पाएको उच्च गुणस्तरीय नेपाली चियालाई भने गुणस्तरहीनको बहाना बनाएर सडकमै रोक्ने र फेल भएमा २०-२२ लाख मूल्यको चिया भारतमै नष्ट गर्नुपर्ने त्रासमा नेपाली उद्योगी छन्।
भारतीय टी बोर्ड यतिमा मात्र रोकिएको छैन, उसले पश्चिम बंगालका चिया व्यापारीहरूलाई नेपालबाट चिया नमगाउन कडा उर्दी जारी गर्दै अटेरी गरे गोदाममै छापा मार्ने धम्की दिएपछि नेपालतर्फ आउने 'वाइङ कल' समेत ठप्प भएको छ। नेपालमा वार्षिक साढे ४ अर्बभन्दा बढी विदेशी मुद्रा भित्र्याउने र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत नै रहेको अवस्थामा यो अवरोधले देशका १२० भन्दा बढी चिया उद्योग बन्द हुने र ५० देखि ६० हजार किसान तथा मजदुर सडकमा आउने विकराल स्थिति बनेको छ।
Photo : AI