06/01/2026
वीरगंज महानगर क्षेत्रका दुई समुदायबीच उत्पन्न तनावपूर्ण अवस्थाका कारण कर्फ्यु लागू भएपछि सम्पूर्ण विद्यालय बन्द हुन पुगेका छन्। यसले विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगंज महानगर समितिले सामाजिक शान्ति, सद्भाव र शिक्षा क्षेत्रको संरक्षणका लागि सबै पक्षलाई संयमित हुन अपिल गरेको छ।
एनप्याब्सन वीरगंजका सचिव शेख अजहरद्वारा जारी प्रेस विज्ञप्तिमा कर्फ्युका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको शैक्षिक यात्रा गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा बारम्बारका बिदा, आन्दोलन तथा अन्य अस्थिरताले विद्यार्थीहरूको शैक्षिक स्तर र मानसिक अवस्थामासमेत नकारात्मक असर परिरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रा बालबालिका कुनै पनि आन्दोलन वा द्वन्द्वका जिम्मेवार होइनन्; उनीहरू नै समाज र राष्ट्रको भविष्यका आधारस्तम्भ हुन्।”
यसरी विद्यालयहरू पटक–पटक बन्द हुनु अभिभावक, विद्यार्थी र विद्यालय सबैका लागि चिन्ताको विषय भएको भन्दै एनप्याब्सनले कुनै पनि कार्यक्रम वा आन्दोलन अघि बढाउँदा शिक्षा क्षेत्रमा पर्ने प्रभावबारे गम्भीर ध्यान दिन सरोकारवालालाई आग्रह गरेको छ।
साथै, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग शिक्षा क्षेत्र थप प्रभावित नहोस् भन्नेमा विशेष संवेदनशीलता अपनाउन आग्रह गरिएको छ। निरन्तर विद्यालय बन्द हुनुले अभिभावकहरू वीरगञ्जका विद्यालयमा बालबालिका भर्ना गराउन हिच्किचाउने अवस्था सिर्जना हुन सक्ने र यसले शहरको शैक्षिक प्रतिष्ठामाथि नकारात्मक असर पार्न सक्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
एनप्याब्सनले सम्पूर्ण नगरवासी, समुदाय, राजनीतिक दल र सामाजिक संघ–संस्थाहरूलाई आपसी सहिष्णुता, सौहार्द र समझदारी कायम गरी शान्तिपूर्ण शैक्षिक वातावरण बनाउन सहयोग गर्न आह्वान गरेको छ।
पर्सा प्रशासनले पछिल्ला दिनहरूमा देखिएको धार्मिक संवेदनशीलता र तनाव नियन्त्रणका लागि वीरगञ्जमा कर्फ्यु आदेश जारी गर्दै आएको छ। अवस्था सामान्य बन्दै गएपछि शैक्षिक गतिविधि पुनः नियमित हुने अपेक्षा गरिएको छ।