04/04/2026
नेपालको एउटा ठूलो क्यासिनोमा एकजना भारतीय मारवाडी व्यापारी जुवा खेलिरहेका थिए। मारवाडीहरू हिसाब-किताबमा निकै पक्का हुन्छन् भनिन्छ, तर त्यो दिन उनको ग्रहदशा ठिक थिएन। खेल्दाखेल्दै उनले आफ्नो साथमा भएको अन्तिम रुपैयाँसम्म हारे। गोजी रित्तियो, घर फर्किने भाडा समेत बााकी रहेन।
निराशाको त्यो घडीमा उनलाई अचानक शौचालय जान मन लाग्यो। शौचालयको ढोकामा पुग्दा त त्यहाँ 'एक रुपैयाँको ढ्याक' हालेपछि मात्र ढोका खुल्ने मेसिन रहेछ। आफ्नो रित्तो गोजी छाम्दै उनी बिलखबन्दमा ढोका अगाडि उभिरहे।
त्यो बेला एकजना नेपाली सज्जनले उनको छटपटी देखे र दया पलाएर आफ्नो गोजीबाट एक रुपैयाँको सिक्का निकालेर ती व्यापारीलाई दिए।
व्यापारी निकै कृतज्ञ भए। उनले तुरुन्तै आफ्नो डायरी निकालेर ती सहयोगीको नाम र ठेगाना नोट गरे र बाचा गरे, "आज तपाईंले मलाई ठूलो संकटबाट बचाउनुभयो, म कुनै न कुनै दिन यो ऋण अवश्य चुकाउनेछु।"
ती सहयोगी गएपछि जब व्यापारीले सिक्का मेसिनमा हाल्न खोजे, उनले देखे कि ढोका त पहिले नै अलिकति खुल्ला थियो! उनीभन्दा अगाडि निस्कने मान्छेले ढोका राम्रोसँग नलगाई छाडिदिएको हुनाले ढोका लक भएकै थिएन।
व्यापारीले सित्तैमा काम चलाए। शौचालयबाट बाहिर निस्कँदा उनको हातमा अझै पनि त्यो उधारो लिएको 'एक रुपैयाँ' सुरक्षित थियो। उनको व्यापारिक दिमाग चल्यो— उनले सोचे, "यो एक रुपैयाँ त मेरो हारिसकेको पैसा होइन, यो त बोनस हो।" उनले त्यही एक रुपैयाँ क्यासिनोको एउटा दाउमा लगाए।
भाग्यले साथ दियो! त्यो एक रुपैयाँबाट ४० रुपैयाँ बन्यो, ४० बाट ४००, र हेर्दाहेर्दै त्यो रात उनले आफ्नो हारेको सबै पैसा मात्र उठाएनन्, अरु ५-७ लाख अतिरिक्त पनि जिते।
त्यसपछि उनी भारत फर्किए र त्यही पैसाबाट एउटा सानो व्यापार सुरु गरे। मारवाडी बुद्धि र कडा परिश्रमले गर्दा उनको व्यापार छोटो समयमै फैलियो। केही वर्षमै भारतका १५ वटा ठूला शहरमा उनको व्यवसाय खुले। बिस्तारै उनले नेपालमा पनि आफ्नो व्यवसाय विस्तार गरेर अर्बपति बने।
वृद्धावस्थामा, एकपटक आफ्नो 'बोर्ड अफ डाइरेक्टर्स' को बैठकमा सफलताको कथा सुनाउँदै उनले भावुक स्वरमा भने, "म आज यो स्थानमा हुनुको पछाडि एउटा मान्छेको हात छ। यदि त्यो दिन उसले मलाई सहयोग नगरेको भए म आज यहाँ हुने थिइनँ। म उसलाई सुन र हीराले तौलिन चाहन्छु।"
एकजना डाइरेक्टरले सोधे, "सर, तपाईं त्यही नेपाली मान्छेको कुरा गर्दै हुनुहुन्छ होला, जसले तपाईंलाई त्यो संकटको बेला एक रुपैयाँ सापटी दिएका थिए?"
व्यापारीले मन्द मुस्कानका साथ जवाफ दिए, "हैन, हैन! उसको नाम-ठेगाना त मसँग सुरक्षित छ, उसलाई त म भेटिहाल्छु नि। म त त्यो महापुरुषलाई खोज्दैछु जसले शौचालयको ढोका खुल्ला छोडिदिएको थियो! यदि ढोका बन्द भएको भए त मेरो त्यो एक रुपैयाँ खर्च भइसक्थ्यो र आज म यो ठाउँमा हुने थिइनँ!" 🤣🤣