27/10/2025
राजेश हमाल कलाकारको अलवा धेरैथोक हुन् । घरिघरि त साधारण प्रश्नको साह्रै गहिरो जवाफ दिन्छन् ।
यज्ञशको प्रश्न,– सन्तानसँग उत्तराधिकार कत्तिको जोडिन्छ ?
हमालको जवाफ,– मानिसको मृत्यु र मृत्युपछि उसले छाड्ने लिगेसीबारे मेरो आफ्नै दृष्टिकोण छ । मृत्युपछि तपाईंलाई कसरी सम्झिइएला भन्ने कुरा तपाईं स्वयम्ले आफ्नो जीवनकालमा छाडेको छापले निर्धारण गर्छ । पृथ्वीनारायण शाहलाई सम्झन ज्ञानेन्द्र शाहको आवश्यकता पर्दैन । भानुभक्तलाई सम्झन उनका सन्तति चाहिन्छन् र ? विश्वेश्वरप्रसादलाई सम्झिन पनि उनका छोरानाति चाहिँदैनन् । म उहाँहरू जस्तो महान् नभए पनि लिगेसी भनेको त जे आफूले छाडिन्छ, त्यति मात्रै हो । कसैको लिगेसीले लामो समयसम्म प्रभाव पारिरहेको हुन्छ, कसैको छोटो समयमा धूमिल हुँदै जान सक्छ । यो स्वाभाविक कुरा हो ।
स्वयम् व्यक्तिका लागि मेरो विचारमा मृत्युपछि केही चीजले पनि माने राख्दैन । तर मान्छे एक दिन मरेर विलीन हुन्छु भन्ने थाहा हुँदा–हुँदै पनि कुनै न कुनै हिसाबले अजम्बरी रहन चाहन्छ । चाहे त्यो छोरानातिले सम्झेलान् भनेर होस् या मन्दिर, चौतारी, पाटीपौवा बनाएर होस्, आफ्नो नाम अमर राख्ने प्रयास गरिरहन्छ । म गए पनि मलाई नबिर्सिऊन् भन्ने सायद हरेक मान्छेमा हुन्छ । तर सबैलाई सम्झिइँदैन ! तपाईं–हामी आज यहाँ किन छौं भने हामीभन्दा माथि हजारौं पुस्ता थिए । तपाईं हाम्रो २५ पुस्ताअघिकाले पनि सन्तान जन्माउँदा आफ्नो अस्तित्व धरतीमा सन्तानका रूपमा रहनेछ भन्ने सोचेका थिए होलान् । अहिले हामीलाई उहाँहरूको नाम थाहा छ ? तपाईंलाई तपाईंको २५ पुस्ताअघि को थिए भन्ने थाहा छ ?
मैले देखेको र अनुभव गरेको बुबापट्टिका हजुरबा, आमापट्टिकी हजुरआमा, मेरा बुबाआमालाई मात्र म सम्झिरहन्छु । मेरो घरको भित्ता उहाँहरूका तस्बिरले सजिएको छ । मेरो आफ्नो सन्तान त भएनन् तर, मेरा दिदीबहिनीका नातिपनातिले मेरा आमाबुबा, हजुरबा–हजुरआमालाई त्यतिकै गहिराइमा सम्झेलान् ? प्रायः मानिस मृत्युपछि आफ्ना निकटतम व्यक्तिहरूको सम्झनामा केही समय जीवित हुने हो । हदै भए आफ्ना छोराछोरी, नातिनातिनासम्म भित्ताको तस्बिरका रूपमा रहने हो । जीवनको वास्तविकता यही हो । आफू स्वयम्ले त जीवन छउन्जेल त्यसलाई सार्थक बनाउन प्रयास गरिरहने हो । बाँचुन्जेल पूर्ण रूपमा बाँच्ने प्रयास गर्ने हो । छाड्ने भनेको आफूले गरेका कार्यहरू, आफ्नो विचार र समाजलाई पुऱ्याएको